समाचारमंगलबार, साउन ८, २०७०
अपहरित छात्र जोगबनीबाट मुक्त
८ साउन बिहान विद्यालय जाने क्रममा अपहरणमा परेका विराटनगर १५ वर्षीय विष्णु साहलाई भारतीय प्रहरीले सीमावर्ती बजार जोगवनीबाट उद्धार गरी नेपाल प्रहरीलाई बुझाएको छ ।
सप्तरी राजविराज–१ घर भई विराटनगर–१३ स्थित अर्कीड स्कुलमा कक्षा ९ मा पढ्ने साहलाई बा २ च ५२४३ नम्बरको भ्यानमा आएको समूहले बिहान ९ बजे अपहरण गरेको थियो ।
भ्यानमा चढाएर आफुलाई कुटपिट गर्दै सिटमुनी सुताएर भारत तर्फ लगेको विष्णुले बताए । जोगवनी भन्दा दक्षिणमा पुगेपछि भारतीय प्रहरीले भ्यानलाई छेकेको र अपहरणकारी भागेको उनको भनाई छ । भ्यानमा चढाएपछि उनीहरु बीच दुई करोड रुपैया फिरौती माग्ने कुरा भएको साहले बताए ।
भारतीय प्रहरीले भ्यान चालक मोरङ कटहरीका रामचन्द्र राजवंशीलाई पक्राउ गरी मोरङ प्रहरीलाई बुझाएको छ । मोरङका प्रहरी उपरीक्षक निरजबहादुर शाहीले अपहरणमा संलग्न ब्यक्तिहरुको पहिचान खुलेको र खोजतलास भई रहेको बताए ।
चालक राजवंशीले अपहरणमा संलग्न ब्यक्तिहरुले आफुलाई ३० हजार रुपैयाँ दिने भनेर अपहरण कार्यमा सघाउन लगेको बताएका छन् ।
कमल रिमाल/विराटनगर

