समाचारबुधबार, साउन ९, २०७०
पूर्वराजा र पूर्वयुवराज्ञीद्वारा दार्चुलामा राहत वितरण
धनगढीबाट हेलिकप्टरमा दार्चुला पुगेका पूर्व राजा ज्ञानेन्द्र शाह र हिमानी ट्रष्टकी अध्यक्ष हिमानी शाहले स्थानीय प्रशासनको समन्वयमा बाढी पीडितलाई राहत वितरण गरेका छन् ।
असार–२ गते महाकाली नदीमा आएको बाढीले दार्चुला सदरमुकामका सयौं बासिन्दा घरबारबिहीन भएका थिए । उनीहरुलाई राहत वितरण गरिएको हिमानी ट्रस्टले जनाएको छ ।
हिमानी ट्रस्टले जम्मा गरेको राहत सामग्री पूर्वराजा शाह र ट्रस्टकी अध्यक्ष हिमानीले बाढीपीडतलाई खाद्यान्न, भाडाँकुडा, लुगाकपडा र क्षति भएका विद्यालयलाई नगद रुपैयाँ समेत प्रदान गरेका छन् ।
पूर्वराज शाह लगायतलाई लिएर धनगढीबाट उडेको हेलिकप्टर दार्चुलास्थित नेपाली सेनाको शत्रुभञ्ज्याङ गुल्ममा अवतरण भएको थियो । गुल्मबाट हिडेर सदरमुकाम खलङ्गास्थित टुडिखेल पुगेका पूर्वराजा शाहले त्यहाँ उपस्थित बाढीपीडितलाई राहत प्रदान गरेका हुन ।
पूर्वराज शाह दार्चुला पुग्दा त्यहाँ जम्मा भएका सर्वसाधारणले नाराबाजी समेत गरेका थिए ।
बाढीपहिरो पीडित २ सय ६३ घरपरिवारलाई प्रति परिवार ४५ किलोग्राम चामल, भाँडाकुडा र लत्ताकपडा तथा प्राथमिक तहमा अध्यनरत एकहजार छात्रछात्राहरुलाई विद्यालय पोसाक, कापि–कलम र विष्कुट प्रदान गरिएको ट्रष्टले जनाएको छ ।
यसैगरी स्थानीय लटिनाथ प्राविलाई छाना मर्मत गर्न एकलाख ५० हजार, पूर्ण रुपमा क्षति भएको भगवती प्रावि मर्मतका लागि दुई लाख ५० हजार, कैलासपति निमाविलाई ५० हजार, जनज्योति प्राविलाई एकलाख ५० हजार र लटिनाथ उमाविलाई एकलाख नगद सहयोग गरेको पूर्वराजाका संवाद सचिव फणिराज पाठकले जानकारी दिए ।
राहत वितरण गरेपछि ९ साउनमै पूर्वराज शाह धनगढी फर्किने छन् ।
११ साउनमा कैलालीको टीकापुर र १३ साउनमा महेन्द्रनगरमा राहत वितरण गर्ने कार्यक्रम रहेको ट्रष्टले जानकारी दिएको छ ।
बच्चु विक, धनगढी
