समाचारबुधबार, साउन ९, २०७०
‘बेलबारी घटनाका दोषीलाई कारबाही गर’
स्थानीय जीवन भेटवालले आफूमाथि बलात्कारको प्रयास गरेको भन्दै बेलबारी बस्ने एक युवतीले प्रहरीमा उजुरी गरेकी थिइन् । उजुरीको अर्को दिन गाउँलेले बोलाएको भेलामा पुगेकी युवती र उनको पक्षमा बोल्ने अगुवा पुरुषलाई केही गाउँलेहरुले ‘निराधार आरोप लगाएर बेइज्जत गर्न खोजेको’ भन्दै कुटपिट गर्नुका साथै कालो मोसो दली जुत्ताको माला लगाइदिएका थिए ।
पीडकहरुबाटै पीडितमाथि कुटपिट भएपछि उक्त घटनाबारे मानव अधिकार आयोगको क्षेत्रीय कार्यालय विराटनगरले घटनाको अनुगमन शुरु गरेको छ । आयोगका अनुसार प्रहरीले घटनामा संलग्न भएको अभियोगमा सातजनाविरुद्ध सार्वजनिक अपराधमा मुद्दा दायर गरेको छ भने उनीहरूमध्ये ६ जना पक्राउ परिसकेका छन् ।
घटनाको निष्पक्ष छानबिन गरी सत्य–तथ्य सार्वजनिक गर्न पनि आयोगले सरकारसँग आग्रह गरेको छ । आयोगद्वारा ९ साउनमा जारी विज्ञप्तिमा दोषीहरूलाई कानूनी कारबाहीको दायरामा ल्याउन घटनाको छानबिनमा संलग्न अधिकारीहरूसँग आयोगले आग्रह गरेको छ ।
यसका अतिरिक्त घटनालाई थप उत्तेजक बन्न नदिन तथा घटनाका पीडित र साक्षीहरूको सुरक्षाको पूर्ण प्रत्याभूति गर्न पनि आयोगले सरकारसँग आग्रह गरेको छ ।
बेलबारीमा एक्लै बस्दै आएकी ती युवतीले घर र्फकने क्रममा गत ५ साउन साँझ आफूलाई स्थानीय जीवन भेटवालले बलात्कार गर्न खोजेको आरोप लगाएकी छन् । प्रहरीले भेटवाललाई राति साढे ८ बजे पक्राउ गरे पनि पछि बलात्कार गर्न खोजेको पुष्टि नभएको भन्दै छाडेको थियो ।
