समाचारबुधबार, साउन ९, २०७०
एमाले नेता नेपाल भारत प्रस्थान

भारततर्फ लाग्नु अघि बुवा मंगलप्रसाद उपाध्यायबाट आशिर्वाद लिदै एमाले नेता माधवकुमार नेपाल । तस्बीर: आनन्दराम डंगोल
भारतीय प्रधानमन्त्री मनमोहन सिंहको औपचारिक निमन्त्रणामा तीन सदस्यीय टोलीको नेतृत्व गर्दै एमाले वरिष्ठ नेता माधवकुमार नेपाल ९ साउन अपराह्न नयाँ दिल्ली प्रस्थान गरेका छन् ।
भारत जानुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता नेपालले छिमेकी देशका नेताहरुस“ग आपसी हितका बारेमा छलफल गर्ने बताए । उनले प्रधानमन्त्री सिंह, कांग्रेस आई अध्यक्ष सोनिया गान्धी लगायत विभिन्न दलका शीर्ष नेताहरुस“ग भेटघाट गर्ने जानकारी दिए ।
नेता नेपालले १० साउन साँझ भारतीय प्रधानमन्त्री मनमोहन सिंहसँग र ११ साउन अपरान्ह कांग्रेस आई अध्यक्ष सोनिया गान्धीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
त्यसैगरी बिहारको नालन्दा विश्वविद्यालयमा हुने विशेष कार्यक्रमलाई सम्बोधन गर्नेछन् । त्यसक्रममा बिहारका मुख्यमन्त्री नितिश कुमारसँग पनि नेता नेपालले भेटवार्ता हुने कार्यक्रम तय भएको एमालेले जनाएको छ ।
भ्रमण टोलीमा एमाले महासचिव इश्वर पोखरेल र पार्टी विदेश विभाग सदस्य राजन भट्टराई पनि सहभागी छन् ।
यसअघि भारतको औपचारिक निम्तोमा नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा गत २६ जेठमा भारत गएका थिए भने देउवाअघि एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले पनि भारतको भ्रमण गरेका थिए ।
