समाचारबिहीबार, साउन १०, २०७०
फोरम नेपालका नेतामाथि गोली प्रहार
महोत्तरी सदरमुकाम जलेश्वर–६ स्थित मधेशी जनाधिकार फोरम नेपालको कार्यालयमा रहेका सचिव ४५ वर्षीय रामप्रकाश साहमाथि १० साउनमा गोली प्रहार भएको छ ।
मोटर साइकल चढी आएका दुई जनाले गोली प्रहार गरी भागेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । बायाँ पाखुरामा गोली लागेका साहको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था खतरामुक्त रहेको चिकित्सकहरुले बताएका छन् ।
जलेश्वर प्रहरीका अनुसार भारतीय नम्बर प्लेटको मोटर साइकल चढी आएका दुई जनामध्ये एक जनाले गोली प्रहार गरेका थिए । गोली प्रहार गरे लगत्तै उनीहरु भारतीय सीमा तर्फ भागेको प्रहरीले जनाएको छ ।
घटनाको जिम्मेवारी सशस्त्र समूह तराई जनतान्त्रिक मुक्ति मोर्चा राजन समूहले लिएको छ । उक्त समूहले मधेश केन्द्रित दलका नेताहरुलाई मधेश छोडन उर्दी जारी गर्दै नछाडे भौतिक कार्वाही गर्ने चेतावनी दिएको थियो ।
इश्वरचन्द्र झा, जनकपुर

