थप समाचारशनिबार, साउन १२, २०७०
लामखुट्टेले सताएपछि
सङ्ग्रहालय प्रवेशका लागि टिकट काट्न बसेका कर्मचारीहरु कार्यकक्षमा लामखुट्टेले सताएको भन्दै काउन्टरमा नबसी सङ्ग्रहालयको गेट बाहिरै बस्ने गरेका छन् ।
यता सङ्ग्रहालयको अवलोकन गर्न चाहने व्यक्तिहरु भने काउन्टरमा टिकट काट्ने कर्मचारीलाई नभेटेपछि सङ्ग्रहालयको अवलोकन नै नगरी फर्किने गरेका छन् ।
बर्दियाबाट सङ्ग्रहालयको अवलोकन गर्न आएका छवीलाल वलीसहितको एक समूहले काउन्टरमा टिकट काट्ने कर्मचारी नभेटिए पछि आफूहरु फर्किएको बताए ।
“टिकट काट्ने मान्छे नभेटिएपछि हामीले कहाँ खोज्ने फर्किएर आयौँ,” वलीले प्रश्न गर्नुभयो, “कर्मचारीको लापरबाही हो कि, के हो यो ?” टिकट काट्ने जिम्मा लिएका कार्यालयका कर्मचारी राजकुमारी खड्का र मधु रेग्मीले भने लामखुट्टे लाग्ने भएकै कारण आफूहरु धेरै समय काउन्टरमा नबस्ने गरेको बताएका छन् ।
सातजनाको दरबन्दी भएको सङ्ग्रहालयमा अहिले तीनजनामात्र कार्यालयमा आउने गरेका छन् । कार्यालयमा सङ्ग्रहालयमा भएका पुरातात्विक वस्तुहरुको विस्तृत जानकारी दिने र सङ्ग्रहालयको स्थापनाका बारेमा भन्न सक्ने कर्मचारी नै नभएको एकजना अवलोकनकर्ताले बताए । विगत दुई वर्षदेखि सङ्ग्रहालय निमित्त प्रमुखको भरमा चलेको छ ।
विसं २०४६ मा पूर्वाधार विकास कार्य सुरु भई २०५७ सालदेखि सञ्चालनमा आएको सङ्ग्रहालयमा बाँके, बर्दिया, दाङ, कैलाली र कञ्चनपुरबाट अवलोकनकर्ताहरु आउने गरेका छन् ।
सङ्ग्रहालयमा पहिलेको भन्दा राजस्व पनि कम उठेको छ । आव २०६९/०७० मा रु २९ हजार राजस्व सङ्कलन भएको सङ्ग्रहलयले जनाएको छ । यसअघिको आवभन्दा यो रकम कम हो ।
रासस
