समाचारआइतबार, साउन १३, २०७०
पूर्वराजाले भने, ‘जनता आऊ, देश बचाऊ भन्नोस’
हिमानी ट्रस्टले १३ साउनमा कञ्चनपुरका बाढीपीडितका लागि संकलित राहत सामाग्री जिल्ला विपत ब्यवस्थापन समितिलाई हस्तान्तरण गर्दा पीडितहरुले पूर्वराजाकै हातबाट राहत पाउनु पर्ने भन्दै नाराबाजी गरेका छन् । नाराबाजी गरिरहेका सर्वसाधारणलाई पूर्वराजा ज्ञानेन्द्र शाहले भने, “राजा आऊ होइन, जनता आऊ देश बचाऊ भन्नोस ।’
राहत पूर्वराजाकै हातबाट पाउनु पर्छ भन्दै नाराबाजी गरेका बाढीपीडितहरुका हात समात्दै शाहले सरकारको नियमकानूनको परिधिभित्र रहनु सबैको कर्तव्य भएको बताएका थिए । उनले भने, ‘‘नियमकानूनको परिधिभित्र रहनु तपाई हामी सबैको कर्तव्य हुन्छ ।’’
मझगाउँ विमानस्थलबाट महेन्द्रनगरसम्मको तीन किलोमिटर आफै गाडी चलाएर गएका पूर्वराजा शाहले गाडी रोक्दै बाटोमा उभिएका सर्वसाधारणबाट फूल, खादा लिंदै कुराकानी समेत गरेका थिए ।
यसैबीच कञ्चनपुरका बाढीपीडितका लागि ल्याइएको राहत सामग्री पूर्व युवराज्ञी एवम् हिमानी ट्रस्टकी अध्यक्ष हिमानी शाहले कञ्चनपुर जिल्ला विपद् व्यवस्थापन समितिलाई हस्तान्तरण गरेकी छन् ।
भीमदत्त नगरपालिकाको भुजेला, ऐरी, ओदाली, दोधारा, चाँदनी लगायत क्षेत्रका गरी एक हजार ३ सय ७ परिवारका लागि प्रति परिवार १५ किलोग्राम चामल, लत्ताकपडा, भाडाँकुडा र विद्यार्थीका लागि झोला, विद्यालय पोशाक र शैक्षिक सामग्री हिमानी ट्रष्टले जिल्ला विपद ब्यवस्थापन समितिलाई हस्तान्तरण गरेको छ ।
राहत सामग्री जिल्ला रेडक्रस सोसाइटी र विपद् व्यवस्थापन समितिले वितरण गरिरहेको रेडक्रस कञ्चनपुरका सभापति टेकराज उप्रेतीले बताए ।
बच्चु विक, महेन्द्रनगर

