थप समाचारसोमबार, साउन १४, २०७०
बर्बरताको हद: बेलबारी काण्ड
साउन २०६८ मा बेलबारी–३ करमडाँडाका रामचन्द्र भेटवाल (६०) छिमेकी माया सार्कीले देखेकै कारण बलात्कारी प्रमाणित भएर पीडित बालिकालाई पाँच कट्ठा जमीन दिन बाध्य भएका थिए । त्यो घटनापछि करमडाँडाका छिमेकीबीच आएको विभाजन र द्वेषको परिणाम ७ साउनमा प्रकट भयो ।
६ साउन साँझ् बेलबारीको रिजेस होटलमा सघाउपघाउको काम सकेर घर फर्कंदै गरेकी माया सार्कीलाई सिसौली खोला पुग्दा कसैले पछाडिबाट मुख र घाँटीमा समाएर झडीतिर तान्न थाल्यो । जोरजबर्जस्तीका बीच कसोकसो मायाले समाउने व्यक्तिको हात टोक्न सकिन् । १२ वर्षीया छोरी र आठ वर्षको छोराकी आमा माया भन्छिन्, “फुत्किनासाथ जीवन भेटवालले मलाई मार्न लाग्यो भन्दै कराएँ ।” मायाका श्रीमान् वैदेशिक रोजगारीमा छन् ।
त्यसपछि टोलका मान्छेहरू टर्च बालेर आए, मायाले जीवन भेटवाल भनेको मान्छे खोलैखोला तलतिर भाग्यो । मायाले ‘मलाई भेटवालको छोरोले घाँटी ङ्याँकेर मार्न खोज्यो’ भनेपछि पत्रकार मनोज विश्वकर्माको अगुवाईमा राति नै बेलबारी प्रहरीमा उजुरी दिने काम भयो । यही आधारमा प्रहरीले जीवनलाई पक्राउ गर्यो । वैदेशिक रोजगारीबाट विदामा आएका उनी घटनास्थलदेखि केही तल काकाको घरमा भेटिएका थिए । तर, जीवनको हातमा टोकिएको चोट नदेखिएपछि सबै जना मायासँग रिसाए ।
त्यसरी बेलबारी थानाबाट फर्किएर घर नजिकै पुगेकी हर्कमाया भुजेल (७०) लाई मायालाई सहयोग गरेको भन्दै जीवन पक्षका महिलाहरूले कुटपीट गरे । ६ गते बिहान फेरि मिल्ने भनेर गाउँकै स्कूलमा भेला बोलाइयो । भेलामा मायाभन्दा अगाडि पुगेका विमला राई, दीपा तामाङ, विमला थापा, मैया तामाङ, मीना भुजेलमध्ये मीनालाई चन्द्रकला भेटवाल, सावित्रा भेटवाल र अम्बिका भेटवालले हातपात गरे ।
त्यसपछि फोन गरेर बोलाइएकी माया माथि पनि आउनासाथ हमला गरियो । “बोल्नै नदिई जथाभावी कुटपीट गर्न थाले”, माइती इन्द्रपुरमा भेटिएकी मायाले हिमाल सँग भनिन्, “कुटपीटसँगै लुगा च्याती अर्धनग्न पारेर कालोमोसो दल्दै ‘तँलाई १० कट्ठा जग्गा चाहिन्छ हैन’ भन्दै चप्पल–जुत्ताको माला लगाइदिए ।”
भेलामा माया आउनु अगाडि नै पत्रकार मनोज विश्वकर्मालाई कुटपीट गर्दै कालोमोसो दलिसकेका थिए । भेलामा आएकी टंकमाया प्रसाईं (५१) का अनुसार, वेतना एफएमका भोजराज बस्नेतले ‘पुलिस आएपछि केही गर्न पाउँदैनौ, जे गर्नु छ गरिहाल’ भनेपछि ज्यादती शुरू भएको थियो । प्रसाईंले भनिन्, “पत्रकारले अधिकार दिएपछि जीवनकी आमा अम्बिका र श्रीमती सावित्रा जाइलागे, अरूले सघाए ।”
घटनापछिको अवस्था
नेपाली समाजलाई नै लज्जित बनाउने गरी भएको यो घटनापछि छोराछोरी लिएर माइत लागेकी मायालाई गैर–सरकारी संस्था ओरेक, नेपालले मनोचिकित्साका लागि विराटनगर लगेको छ । पत्रकार विश्वकर्माले आफूलाई कुटपीट गर्दै मोसो दल्ने जीवन, अमित भेटवाल र कवीन्द्र प्रसाईं विरुद्ध प्रहरीमा उजुरी दिएका छन् । प्रहरीले मायाकै उजुरीको आधारमा जीवन, उनकी श्रीमती सावित्रा, आमा अम्बिका, अमित भेटवाल, कमला भेटवाल र चन्द्रकला भेटवाललाई पक्राउ गरेको छ । सञ्जय सुवेदी र कवीन्द्र प्रसाईं फरार छन् ।
इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख प्रहरी निरीक्षक दिलीपकुमार गिरीका अनुसार समातिएकाहरूमाथि सार्वजनिक मुद्दा चलाइएको छ । एसपी शेखर कोइरालाको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति पनि गठन गरिएको छ । त्यो साँझ् जीवन काकाको घरमा खाना खान गएको दाबी गर्ने रामचन्द्र भेटवाल उल्टै आक्रोशित छन् । “जुत्ताको माला फाल्दा फालियो, मोसो पनि धुँदा गयो”, रामचन्द्रले भने, “तर, मेरो छोरामाथि लागेको दाग जिन्दगीभर हराउँदैन ।”
सीता मादेम्बा, बेलबारी मोरङ
१३ साउनको साप्ताहिक खबरपत्रिका हिमालबाट ।


