समाचारमंगलबार, साउन १५, २०७०
अर्घाखाँचीका अधिकांश सडक अवरुद्ध
अर्घाखाँची लामो दुरीका जिल्लाका मुख्य सडकहरु नै पहिराले भत्किएपछि यात्रुहरुले घन्टौं पैदल यात्रा गर्नुपर्ने अवस्था छ । विगत दुई हप्ताअघि परेको भारी वर्षाले जिल्लाका अधिकांश मुख्य सडकहरु अवरुद्ध छन् । भने गाउँगाउँमा खाद्यान्नको अभावसमेत हुन थालेको छ ।
सदरमुकामबाट खाद्यान्न ढुवानी गर्न नपाएपछि गोदाममा राखेको खाद्यान रित्तिसकेको ढाकावाङ्गको पिपलनेटाका व्यवसायी तिलक खनालले बताए ।
सदरमुकाम सन्धिखर्कलाई जोडने सडकहरु सन्धिखर्क–किमडाँडा–धारापानी सडक, प्युठान–खलङ्गा सडक, वाङ्गला–वल्कोट–गुल्मी–तम्घास सडक, बाँगी–हंसपुर–गोखुङ्गा सडक, दुर्गाफाँट–पाल्पा–तानसेन सडक अवरुद्ध भएका छन् ।
यस्तै ढिकुरा–धनचौर, जुकेना–जलुके, सिमलपानी–सिद्धारा लगायतका साना सडकहरु पनि अवरुद्ध छन् । ठाउँठाउँमा गएको पहिरो र बाढीले ठूलाठूला खाडल बनाएपछि सडकहरुमा पैदल यात्रा गर्न समेत समस्या हुने गरेको छ । सडक अवरुद्ध हुँदा विरामी परेमा उपचार गराउनको लागि र सदरमुकाममा सरकारी सेवा लिनको लागि आउनेहरुलाई निकै समस्या हुने गरेको छ ।
४२ वटै गाविसमा मोटरबाटो पुगेको एक मात्र पहाडी जिल्लाको रुपमा रहेको यस जिल्लामा विकास वजेटको करिव ७० प्रतिशत रकम सडमै खर्च हुन्छ । अन्य शिर्षकमा छुट्टाइएको वजेट समेत मोटर बाटोमा खर्च गर्ने परिपाटी यहाँ छ । जिल्लाका अधिकांश सडकहरु ठेकेदारको लापरवाहीले गर्दा गुणस्तरीय बन्न सकेका छ्रैनन् ।
सन्धिखर्क– किमडाँडा– धरापानी–ढाकावाङ्ग सडक ग्रामिण स्तरको सडक मध्य सबै भन्दा धेरै सवारी सञ्चालनमा आउने सडक हो । यो सडक पनि विगत डेढ हप्तादेखि अवरुद्ध हुदा प्युठान सम्मका मानिसहरु पैदल यात्रा गर्न बाध्य भएका छन् । किमडाँडा –३ पकलेमा ठुलो पहिरो गएपछि अहिले सडकको निसानानै मेटिएको छ ।

