समाचारमंगलबार, साउन १५, २०७०
वैद्यसंग सैद्धान्तिक विमति छैनः विष्ट
तनहुँको दमौलीमा १५ साउनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै एमाओवादी केन्द्रीय सदस्य लोकेन्द्र विष्टले दुवै माओवादीबीच सैद्धान्तिक एकता भएको भन्दै आन्तरिक बिषयमा कुरा नमिल्दा मात्रै पार्टि फुटेको दाबी गरेका छन् ।
“हाम्रा मुद्दाहरु समान छन्, त्यसका पक्षमा बहुमत दिलाउन पनि दुबै दलले चुनावमा भाग लिनु आवश्यक छ,” विष्टले भने ।
निर्वाचन बहिष्कार घोषणा गरेका राजनीतिक शक्तिलाई अन्तिम समयसम्म कुर्ने भन्दै बिष्टले नआए उनीहरुलाई छाडेरै भएपनि चुनावमा जानुपर्ने बाध्यता रहेको बताए ।
चुनाव भांड्नेलाई गोदेरै तह लगाउने
निर्वाचन बहिस्कारको घोषणा गरेको नेकपा–माओवादीसँग सैद्धान्तिक समानता भएको दाबी गर्ने विष्टले निर्वाचन भाँड्न खोज्नेहरुलाई भने गोदेरै भएपनि तह लगाउने चेतावनी पनि दिए ।
कुनै पनि अवस्थामा संविधानसभा चुनाव हुनु आवश्यक रहेको भन्दै उनले कसैले यसलाई विफल पार्ने प्रयत्न गरे बल प्रयोग गर्नुको विकल्प नरहेको बताए ।
आफ्नो पार्टीको सुरक्षा दस्ता वाईसिएलसँगै कांग्रेसको तरुण दल र एमालेको युवा संघलाई पनि निर्वाचन सफल पार्न परिचालन गर्नुपर्ने समेत धारणा व्यक्त गरेका थिए ।
पवन पौडेल, तनहुँ
