समाचारमंगलबार, साउन १५, २०७०
‘नेविसंघको महाधिवेशन तोकिएको समयमै हुने’
नेपाली कांग्रेसका महामन्त्री प्रकाशमान सिंहको संयोजकत्वमा केन्द्रीय सदस्यहरु प्रकाशशरण महत, नविनराज जोशी र बद्री पाण्डे सदस्य रहेको भ्रातृ संस्थाहरुको महाधिवेशन सम्पन्न गर्ने प्रयोजनका लागि गठित “निर्देशन समिति” को बैठकले तोकिएकै मितिमा नेपाल विद्यार्थी संघको महाधिवेशन सम्पन्न गर्ने निर्णय गरेको नेपाली कांग्रेसले जनाएको छ ।
महाधिवेशन सम्पन्न गर्नका लागि पार्टी, भ्रातृ संस्थाहरु तथा सरोकारवाला सबै निकायहरुले महाधिवेशन सम्पन्न गर्नका लागि सहयोग पुर्याउन आह्वान गर्ने पनि समितिले निर्णय गरेको छ ।
नेपाली कांग्रेसद्वारा जारी विज्ञप्तिमा केन्द्रीय प्रतिनिधिहरुलाई दिएको विशेष निर्देशन “आचार संहिता” को उल्लंघन गरेमा सजाय गर्ने समेत कांग्रेसले जनाएको छ ।
यसअघि नेपाल विद्यार्थी संघको महाधिवेशन भदौ २९ देखि ३१ गतेसम्मका लागि घोषणा गरिए पनि कांग्रेसभित्रकै मतभेदका कारण महाधिवेशन हुनेमा अलमल थियो ।
