समाचारबुधबार, साउन १६, २०७०
व्यापारी लुट्ने एमाओवादी कार्यकर्ता त्यसै छाडिए
घुम्ती व्यापारी लुट्ने एमाओवादी तमुवान राज्य समितिका सदस्य रविन्द्र अधिकारी भन्ने नविन अधिकारी, प्रताप लामिछाने र टीकाराम विकलाई उजुरीपछि प्रहरीले पक्राउ गरे पनि कुनै कारबाही नै नगरी रिहा गरेको छ ।
उनीहरुले गत १२ साउनमा घुम्ती व्यापारी विजय जैसवाल र नत्थु महतोबाट ८२ हजार नगद र एक थान मोबाइल लुटेका थिए । जैसवाल र महतोले प्रहरीमा उजुरी दिएपछि १३ साउनमा भोटेओडार प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो ।
पक्राउ परेका एमाओवादी नेतालाई कुनै कारबाही नै नगरी तीन दिनभित्र लुटिएको पैसा फिर्ता गर्ने शर्तमा एमाओवादी संवद्ध स्थानीय नवराज अधिकारी र गोकुलप्रसाद रेग्मीको रोहबरमा छाडिएको छ ।
यस बारे जिल्ला प्रहरी कार्यालयले रिपोर्टिड नभएकोले आफूलाई थाहा नभएको बताएको छ भने भोटेओडार प्रहरीले जिल्लालाई सोध्नुपर्ने भन्दै टारेको छ । स्रोतका अनुसार एमाओवादी नेताहरुको दबावका कारण उनीहरुलाई विना कारबाही छाडिएको हो ।
भोटेओडारका स्थानीय व्यापारी भरत थापाको पसलबाट चक्लेट लगायतका सामान र ज्ञानहरि सापकोटाको पसलबाट स्टेशनरी सामान खरिद गरि विक्रीका लागि अर्चलबोट पुगेका ति घुम्ती व्यापारी अर्चलबोटबाट भोटेओडार फर्कने क्रममा १२ साउन साँझ ७ बजेतिर बाटोमा लुटिएका हुन् ।
लुटपाटका क्रममा कुटपिट समेत हँुदा महतोलाई सामान्य चोट लागेको छन् । महोत्तरी घर भएका जैसवाल विगत ६ बर्षदेखि र महतो १३ बर्षदेखि भोटेओडारमा बसेर गाउँ गाउँमा सामान बेच्दै आएका छन् ।
अन्यायमा परे पनि जिउधनको सुरक्षाका लागि कुरा मिलाउनतर्फ लागेको उनीहरुले बताएका छन् । “घरपरिवार छ, आज कारबाही गरियो भोली हाम्रो ज्यानको सुरक्षा कसले दिने ? जसैवालले भने । उजुरी दिनुअघि अधिकारीले टेलिफोनमार्फत समेत धम्काएको उनीहरुले बताएका छन् ।
प्रमुख जिल्ला अधिकारी बाबुराम भण्डारीले भने घटनाबारे आफूलाई राम्रोसग जानकारी नभएको र सोधखोज गरिरहेको बताएका छन् ।
युवराज श्रेष्ठ, लमजुङ
