समाचारबिहीबार, साउन १७, २०७०

चितवन बन्द खुल्यो (अपडेट)

हिमालखबर

१ बन्द गराउन नारायणगढ पुल्चोकमा हातमा लाठी लिएका वाइसीएल कार्यर्ता र सुनसान नारायणगढ बजार । तस्बीर: सविता श्रेष्ठ

पक्राउ परेका कार्यकर्ताहरुलाई १९ साउनसम्म छाड्ने आश्वासन पाएपछि अनिश्चितकालिन चितवन बन्द त्यतिञ्जेलसम्मका लागि लागि स्थगित गरिएको वाईसीएल चितवनका संयोजक ईश्वर सापकोटाले जानकारी दिएका छन् ।

प्रहरीले चार जनालाई चन्दा ऐन अन्तर्गत मुद्दा चलाउन भोली नै अदालत पेश गर्ने र सार्वजनिक अपराध ऐन अन्तर्गत अनुसन्धानमा रहेका दुई जनालाई आजै रातिसम्म छाड्ने सहमति भएको बुझिएको छ ।

बन्दको क्रममा वाइसीएल कार्यकर्ताहरुले भरतपुरमा ना २ च ४४८८ नम्बरको एम्बुलेन्स र रत्ननगरमा नेपाल टेलिकमको शाखामा तोडफोड गरेका छन्  । बन्दका कारण चितवनका सम्पूर्ण शैक्षिक संस्था, बजार, कलकारखाना र यातायत बन्द भएका थिए ।

प्रहरीले १५ साउन सांझ नारायणगढको पुतली बजार क्षेत्रमा चन्दा माग्दै गर्दा पक्राउ परेका भरत मगर, मधुराज न्यौपाने, मनोजकुमार शेर्पा र रवि पराजुलीलाई चन्दा ऐन अन्र्तगत र उत्तम गुरुङ र विशाल मरहठ्ठालाई केही सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्दा चलाउन म्याद थप गराई अनुसन्धान अघि बढाएको छ ।

उनीहरुको अनुसन्धान चाँडै सकेर अदालत पेश गर्ने तयारी भैरहेको चितवनका प्रहरी उपरीक्षक प्रद्युम्न कार्कीले जानकारी दिएका छन् ।
सविता श्रेष्ठ, चितवन

——————————————————————————————————————
वाईसीएलद्वारा फेरि चितवन बन्द, एम्बुलेन्स तोडफोड

पक्राउ परेका कार्यकर्ता रिहाईको माग राख्दै एमाओवादीको युवा दस्ता वाईसीएलले १७ साउनमा गरेको चितवन बन्दमा एम्बुलेन्स तोडफोड गरेको छ ।

हिमालखबर
बिहीबार , १७ साउन २०७० ११:१६ एम

चन्दा उठाउँदै गरेका कार्यकर्तालाई १५ साउनमा प्रहरीले पक्राउ गरेको विरोधमा वाइसीएल चितवनले अनिश्चितकालिन चितवन बन्द गराएको छ । बन्दका कारण चितवनको बजार क्षेत्र, शैक्षिक संस्था, यातायात, उद्योग ठप्प छन् । नारायणगढको पुल्चोक, शहिदचोक, लायन्सचोक तथा चौबिसकोठी क्षेत्रमा बन्दकर्ताहरुले प्रर्दशन गरिरहेका छन् ।

बन्दकर्ताले भरतपुर १० मा पिप्ले रेडक्रस उपशाखाको ना २ च ४४८८ नम्बरको एम्बुलेन्समा तोडफोड गरेका छन् । पूर्वीचितवनको पिप्लेबाट बिरामी लिएर भरतपुर आउँदै गरेको एम्बुलेस बन्दकर्ताले तोडफोड गरेका हुन् । तोडफोडबाट एम्बुलेन्सको अगाडीको सिसा फुटेको छ ।

हेटौंडाबाट सार्वजनिक गाडीमा ल्याइएका गर्भवती बिरामी चितवन बन्दका कारण अलपत्र परेपछि उद्दार गरेर अस्पताल ल्याउँदै गर्दा वाईसीएल कार्यकर्ताले तोडफोड गरेको चालक कृष्णबहादुर नेपालीले जानकारी दिए । नेपाल रेडक्रस सोसाइटी उपशाखा पिप्लेको एम्बुलेन्समा ३ जना बिरामी रहको र ती सबै बीचबाटैमा अलपत्र परेपछि उद्दार गरिएको चालक नेपालीले बताए ।

“बसपार्क नजिकै आइपुगेपछि वन्दकर्ताहरुले रोकेर ‘यात्रु बोकेर हिड्ने’ भन्दै सिसा फोडिदिए” नेपालीले भने । वाईसीएल कार्यकर्ताले बीच सडकमै रोकेर तोडफोड गर्दापनि नजिकै रहेको प्रहरी मूकदर्शक बनेको चालकको गुनासो छ ।

१५ साउनमा नारायणगढ बजारमा ब्यापारीसँग चन्दा उठाउँदै गरेका ६ जना वाइसीएल कार्यकर्तालाई प्रहरीले म्याद थप गरी अनुसन्धान अघि बढाएको छ । नारायणगढको पुतली बजार क्षेत्रमा चन्दा माग्दै गर्दा पक्राउ परेका भरत मगर, मधुराज न्यौपाने, मनोजकुमार शेर्पा र रवि पराजुलीलाई चन्दा ऐन अन्र्तगत र उत्तम गुरुङ र विशाल मरहठ्ठालाई केही सार्वजनिक अपराध ऐन अन्र्तगत अनुसन्धान अघि बढाईएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरिक्षक प्रद्युम्न कार्कीले जानकारी दिए ।

वाईसीएल चितवनले कार्यकर्ताको रिहाईको माग गर्दै १६ साउनमा पनि चितवन बन्द गरेको थियो । सर्वसाधारणलाई मर्का परेको भन्दै बन्द दुई घण्टामा फिर्ता लिएको थियो । त्यसको भोलीपल्ट आज पुनः एमाओवादी भ्रातृसंगठन वाइसीएलले पुनः अनिश्चितकालिन चितवन बन्दको आह्वान गरेको हो ।

सविता श्रेष्ठ, चितवन

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>