समाचारशुक्रबार, साउन १८, २०७०
कांग्रेस पार्टी कार्यालयमा बम विस्फोट
सिरहास्थित नेपाली कांग्रेसको जिल्ला पार्टी कार्यालयमा १७ साउन राति ८:३० बजे बम विस्फोट हुँदा कार्यालयमा रहेका सामान जलेको प्रत्यक्षदर्शीले बताएका छन् । विस्फोटबाट कार्यालयमा सामान्य क्षति पुगेको छ ।
काँग्रेस पार्टी कार्यालयभन्दा करिब ३०० मिटर पूर्व–उत्तरमा जिल्ला प्रहरी कार्यालय छ भने १५० मिटर उत्तर हेमनारायण चौकमा प्रहरीको चौबिस घन्टे ड्यूटी छ ।
जनतान्त्रिक तराई मुक्ति मोर्चाका पूर्वी सैन्य कमान्डर जय मुक्तिले सञ्चारकर्मीलाई फोन गरेर बम विष्फोटनको जिम्मा लिएका छन् ।
“केही मधेशवादी दललगायत पहाडी सत्तावादले मधेशमा आफ्नो अस्तित्व जमाएर मधेश र मधेशी जनताको शोषण गरिरहेकाले कांग्रेस पार्टी कार्यालयमा बम विस्फोट गराइएको हो,” मुक्तिले टेलिफोनमा बताए ।
यता दुई दिन अगाडि मात्र कार्यभार सम्हालेका सिरहाका प्रहरी उपरीक्षक पूर्णचन्द्र जोशीले भने पार्टी कार्यालयमा बम विस्फोट नभएको दाबी गर्दै बम विस्फोटको हल्ला मात्र फैलाइएकोे जिकिर गरेका छन् ।
