थप समाचारशुक्रबार, साउन १८, २०७०

सबैको सहभागितामा निर्वाचन होस: महासचिव मुन

हिमालखबर

अमेरिका भ्रमणमा रहेका नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालसँग गए राति राष्ट्रसङ्घको प्रधान कार्यालयमा भएको भेटवार्तामा महासचिव बानले प्रजातन्त्रमा निर्वाचनको ठूलो महत्व हुने भन्दै नेपालमा संविधानसभाको आगामी निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न हुने विश्वास व्यक्त गरेका छन् ।

अन्य राजनीतिक दलहरूलाई पनि निर्वाचनमा सहभागी गराउन उच्चस्तरीय राजनीतिक समिति सफल हुने आशा महासचिवले व्यक्त गरेको संयुक्त राष्ट्रसङ्घका लागि न्यूयोर्कस्थित स्थायी नेपाली नियोगले जनाएको छ ।

विश्वका विभिन्न भागमा शान्ति स्थापनाका लागि राष्ट्रसङ्घले सञ्चालन गरेका सामरिक कारबाहीमा शान्ति सेना पठाएर नेपाल सरकारले गरेको योगदानको सराहना गर्दै उनले भविष्यमा पनि त्यसले निरन्तरता पाउने अपेक्षा गर्नुभयो ।

नेपाली शान्ति सेनाको व्यावसायिकता तथा साहसको विशेषरुपमा प्रशंसा गर्दै महासचिव बानले राष्ट्रसङ्घीय अवकाश पर्यवेक्षण सैन्यदल (युएनडिओएफ) मा आफ्ना फौज परिचानल गरेकामा नेपाल सरकारप्रति आभार प्रकट गरे ।

स्थायी नेपाली नियोगका अनुसार नेता खनालले प्रजातन्त्र, शान्तिप्रक्रिया, संविधानसभाको निर्वाचन र नेपालको वर्तमान राजनीतिक अवस्थाबारे महासचिव बानलाई जानकारी गराउनुका साथै मङ्सिर ४ गते नै चुनान हुनुपर्छ भन्ने पक्षमा आफू र आफ्नो दल रहेको बताए ।

निर्वाचनको तयारी, त्यसका कानुनी तथा प्राविधिक पक्षबारे महासचिव बानलाई अवगत गराउँदै अध्यक्ष खनालले संयुक्त राष्ट्रसङ्घसहित अन्तर्राष्ट्रिय समुदाय र छिमेकी मुलुकबाट प्राप्त सहयोग एवम् समर्थनप्रति कृतज्ञता व्यक्त गरेको नियोगले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

नेपालको आर्थिक विकासका सम्बन्धमा विचार आदानप्रदान गर्ने क्रममा नेता खनालले इस्तानबुल कार्ययोजनाको प्रसङ्ग उठाउँदै अतिकम विकसित तथा भूपरिवेष्टित अल्प विकसित मुलुक नेपालको विकास प्रयासमा अन्तर्राष्ट्रिय समुदायको विशेष ध्यान जानुपर्नेमा जोड दिए ।

सन् २०२२ सम्ममा नेपाललाई अल्प विकासित मुलुकको सूचीबाट स्तरोन्नति गर्ने सरकारको हालैको निर्णयबारे पनि पूर्व प्रधानमन्त्री खनालले जानकारी गराए । उनले शान्तिप्रक्रियामा राष्ट्रसङ्घले गरेको सहयोगप्रति धन्यवाद दिँदै जारी शान्ति प्रक्रिया सकारात्मक दिशामा उन्मुख भएको बताए ।

“नेपालको राजनीतिक स्थायित्व तथा प्रजातन्त्रको सुदृढीकरणका निम्ति निर्वाचन अपरिहार्य छ”– नेता खनाल र महासचिव बानबीचको संवाद उद्धृत गर्दै विज्ञप्तिमा भनिएको छ ।

भेटका अवसरमा लुम्बिनी विकास परियोजना सम्बन्धमा पनि विचारविमर्श भएको थियो । पूर्वप्रधानमन्त्री खनालले महासचिवलाई अनुकूल पर्ने समयमा लुम्बिनी भ्रमण गर्न आमन्त्रण गरेको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>