समाचारशुक्रबार, साउन १८, २०७०

बाधा अड्काउ फुकाउ आदेश–रिटको सुनुवाइ १३ भदौमा

हिमालखबर

बाधा अडकाउ फुकाउ सम्बन्धमा दायर रिटको सुनुवाई गत १६ साउनका लागि पेशी तोकिएको भए पनि दुई विपक्षी पदाधिकारीबाट लिखित जवाफ नआइपुगेकाले स्थगित गरिएको र १३ भदौका लागि पेशी तोकिएको सर्वोच्च अदालतका सहायक प्रवक्ता बाबुराम दाहालले बताएका छन् ।

कामु प्रधानन्यायाधीशसहित १० सदस्यीय विशेष इजलासमा बाधा अड्काउ फुकाउ आदेश र मन्त्रिपरिषद्का अध्यक्षविरुद्ध परेका २४ वटा रिट निवेदनमाथि २० असारमा भएको प्रारम्भिक बहसमा बाधा अड्काउ आदेश जारी भएपछि सो विवादसँग सम्बन्धित दायर सातवटा रिटमा मात्र सुनुवाइका लागि पेशी तोकिएको थियो ।

चौबीसवटा रिट निवेदनमध्ये १४ वटा संवैधानिक प्रक्रियासँग सम्बन्धित भएका र तीनवटा बाधा अड्काउ फुकाउ आदेश अघिका रिट निवेदन भएकाले ती बाँकी रिट निवेदनलाई भने छुट्टै इजलासमा हेरिने आदेश भएको थियो ।

विशेष इजलासबाट सुनुवाइ हुने भनिएका रिट निवेदनमा अधिवक्ता डा चन्द्रकान्त ज्ञवाली, कञ्चनकृष्ण न्यौपाने, डा गोपाल सिवाकोटी ‘चिन्तन’, सुवास आचार्य तथा जनसरोकार राख्ने ईश्वरी महतो, अमर केसी र भरतमणि जङ्गमका निवेदन थिए ।

रिट निवेदकमध्ये अधिवक्ता सुवास आचार्यको निवेदनका विपक्षी नेपाली काँग्रेसका सभापति सुशील कोइराला र गृह मन्त्रालयको समेत कार्यभार सम्हालेका तत्कालीन उपप्रधानमन्त्री विजयकुमार गच्छदारबाट लिखित जवाफ नआएकाले स्थगित गर्नुपरेको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>