थप समाचारशनिबार, साउन १९, २०७०
गोरखाल्याण्डः वारपारको आन्दोलन घोषणा
दक्षिण भारतमा नयाँ राज्य तेलंगाना निर्माणको घोषणा भएसँगै पूर्वी र पूर्वोत्तर भारतमा पूराना मागहरु फेरि सतहमा चर्केका छन् ।
पश्चिम बंगालमा दार्जिलिंग र वरपरका क्षेत्रहरुलाई मिलाएर बेग्लै गोरखाल्याण्ड राज्यको माग गर्दै गोरखा जनमुक्ति मोर्चाले १९ साउनदेखि दार्जीलिंग र वरपरका पर्वतीय क्षेत्रहरुमा अनिश्चितकालिन बंदको घोषणा गरेको छ ।
पर्यटकहरु र होस्टेलमा बस्ने विद्यार्थीहरुलाई उनीहरुको सजिलोका लागि दार्जिलिंग छोड्न भनिएको छ । तर, मोर्चाले चिया बगान र सिंकोना उत्पादन क्षेत्र भने बन्द नहुने जनाएको छ । दार्जिलिंगको अर्थब्यवस्थाको आधार चिया, सिंकोनाको उत्पादन र पर्यटन हो ।
यसपटकको आन्दोलन पनि ८० को दशकमा भएको आन्दोलन जस्तै सशक्त र हिंस्रक हुनसक्ने भारतीय सञ्चारमाध्यमहरुले अनुमान गरेका छन् । बन्दका क्रममा सरकारी भवन र एउटा प्रहरी चौकीमा आगजनी समेत भएको छ ।
पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले आन्दोलनविरुद्ध कडा अडान प्रस्तुत गर्दै दार्जिलिंग क्षेत्रका सम्पूर्ण सरकारी कार्यालयहरु खुल्लै राख्न आदेश दिएकी छन् । त्यसैगरी सरकारले १८ साउनमा दार्जिलिंगमा केन्द्रीय अर्धसैनिक बलका पाँच कम्पनी पठाएको छ, जस्ले गर्दा दार्जिलिंग थप तनावग्रस्त भएको छ ।
मोर्चाले वार्ताका लागि आफ्नो प्रतिनिधिमण्डल दिल्ली पठाएको छ र भनेको छ, ‘यो वार–पारको लडाई हुनेछ ।’

