समाचारआइतबार, साउन २०, २०७०
बाबुरामको अभिव्यक्तिले पूर्वराजा चर्चामा: विष्ट
राप्रपा नेपालले २० साउनमा महेन्द्रनगरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै राप्रपा नेपालका नेता केशरबहादुर विष्टले पूर्वराजा ज्ञानेन्द्र शाह विरुद्धका एमाओवादी नेता बाबुराम भट्टराईका अभिव्यक्तिहरु उनलाई चर्चामा ल्याउनका लागि भएको दाबी गरेका छन् ।
राजनीतिमा आफूले चाहेको व्यक्तिलाई लोकप्रिय बनाउन यस्ता चालबाजी हुने बताउँदै विष्टले भने, ‘‘बाबुरामजी पढेलेखेको विद्वान मान्छे, पूर्वराजालाई चर्चामा ल्याउन यस्तो गरेको होला ।’’ भट्टराईको अभिव्यक्तिले आफ्नो पार्टीलाई समेत फाइदा पुगेको उनले बताए ।
नेता विष्टले अबको चुनावमा देश दुई कित्तामा बिभाजित हुने भन्दै गणतन्त्र र धर्मनिरपेक्षता पक्षधर तथा देश टुक्रयाउन चाहनेहरुले एमाओवादीलाई भोट हाल्ने र राजासहितको प्रजातन्त्र, हिन्दुराष्ट्र चाहनेहरु राप्रपा नेपालका पक्षमा उभिने दाबी गरेका थिए ।
बच्चु विक, महेन्द्रनगर
