थप समाचारआइतबार, साउन २०, २०७०
गोर्खाल्याण्ड फेरि चर्कियो
भारतको आन्ध्रप्रदेश फुटेर तेलङ्गना राज्य निर्माण हुने निश्चित भएपछि नेपाली भाषी बहुल दार्जीलिङ क्षेत्रमा गोर्खाल्याण्ड राज्य बनाउने मागको आन्दोलन पुनः चर्केको छ । गोर्खाल्याण्डको माग गर्दै विमल गुरुङ नेतृत्वको गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) ले १४ देखि १६ साउनसम्म आमहडताल गरेको थियो ।
केन्द्र र पश्चिम बंगाल सरकारको ध्यान आन्दोलनमा तान्न १४ साउनमा दार्जीलिङमा संजीव लामा र १५ साउनमा कालेबुङमा मंगलसिंह राजपूतले आत्मदाह गर्ने प्रयत्न गरे । ६० वर्षदेखि चल्दै र सुस्त हुँदै गरेको गोर्खाल्याण्ड प्राप्तिको आन्दोलनमा आत्मदाहको यो पहिलो प्रयास हो ।
सन् १९८६ मा सुवास घिसिङ नेतृत्वको गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) ले गोर्खाल्याण्ड प्राप्तिको लागि चलाएको सशस्त्र आन्दोलन १९८८ मा क्षेत्रीय प्रशासनिक व्यवस्था दार्जीलिङ गोर्खा पार्वत्य परिषद् (दागोपाप) मा सम्झैता भएर टुङ्गिएको थियो भने सन् २००७ मा शुरू भएको गुरुङ नेतृत्वको गोजमुमोको आन्दोलन पनि १८ जुलाई २०११ मा क्षेत्रीय प्रशासनिक व्यवस्था गोर्खाल्याण्ड टेरिटोरियल एडमिनिस्ट्रेशन (जीटीए) मा पुगेर समाप्त भएको थियो । जीटीएलाई दिने भनिएको ५७ विभाग सुम्पन पश्चिम बंगाल सरकारले आनाकानी गरेपछि निराश र आक्रोशित बनेको गोजमुमोलाई तेलङ्गना राज्य बन्ने समाचार पुनः आन्दोलनमा उत्रिने निहुँ बन्न पुग्यो ।
लक्ष्य कठिन
आन्दोलनलाई चर्काउन गोजमुमोका अध्यक्ष गुरुङले जीटीए प्रमुखबाट १५ साउनमा राजीनामा दिएका छन् । गोजमुमोका महासचिव तथा जीटीएका कार्यकारी सभासद् रोशन गिरी पश्चिम बंगाल सरकारको धोकाले जीटीए असफल भएकाले गोर्खाल्याण्डको आन्दोलन अघि बढाउनु परेको बताउँछन् ।
तर, गोजमुमोको आन्दोलनसँग पहिल्यैदेखि आलोचनात्मक रहँदै आएको अखिल भारत गोर्खा लिग र क्रान्तिकारी माक्र्सवादी कम्युनिष्ट पार्टीहरू भने नेतृत्वको एकलकाँटे र स्वार्थी प्रवृत्तिले पुरानो आन्दोलन असफल बनेको र अहिले पनि त्यही प्रवृत्ति गोजमुमोमा कायम रहेकाले आन्दोलन सफल हुने सम्भावना कम रहेको धारणा राख्छन् ।
क्रान्तिकारी माक्र्सवादी कम्युनिष्ट पार्टीका गोविन छेत्रीका अनुसार तेलङ्गना आन्दोलन त्यहाँका सबै ४५ पार्टी संलग्न रहेकाले सफल बन्यो भने गोर्खाल्याण्ड आन्दोलन चाहिं गोजमुमोले पेवा बनाउन खोजेकाले असफल भएको हो ।
भारतीय लोकसभामा १७ सांसद् रहेको तेलङ्गना क्षेत्रको तुलनामा गोर्खाल्याण्ड क्षेत्रमा एक जना मात्र लोकसभाको सांसद् रहनु पनि गोर्खाल्याण्ड आन्दोलनप्रति केन्द्रका दलहरू सकारात्मक नहुनुको उनी अर्को कारण मान्छन् । गोजमुमोले त्यही एक जना सभासद्मा पनि गत निर्वाचनमा भारतीय जनता पार्टीका जसवन्त सिंहलाई जिताएको थियो ।
सञ्जय प्रधान, दार्जीलिङ

