थप समाचारसोमबार, साउन २१, २०७०
अर्घाखाँचीका कैदी गुल्मी र कपिलवस्तुमा
२०३५ सालमा निर्माण शुरु भएको अर्घाखाँची जिल्ला कारागारको अहिलेसम्म निर्माण सम्पन्न भएको छैन् । बजेट अभावमा आवश्यक मर्मतसम्भार नहुँदा बनेको संरचना पनि जिर्ण भइसकेको छ । जिल्लाका कैदीलाई राख्ने ठाउँ नभएपछि छिमेकी जिल्ला गुल्मी र कपिलवस्तुका कारागारमा कैदी पठाउने गरिएको छ ।
विभिन्न आरोपमा पक्राउ परेका अभियुक्तहरुलाई जिल्ला प्रहरी कार्यालयको सा“घुरो कोठामा राख्ने गरिएको छ । प्रहरी नायव उपरीक्षक हिराबहादुर पाण्डेका अनुसार जिल्ला प्रहरीमा पनि थुनुवा राख्ने एउटै मात्र कोठा छ, विभिन्न मुद्दामा दोषि ठहर भएका र अनुसन्धानमा रहेकाहरुलाई राख्ने ठाउँ नहुँदा कार्यालयका अन्य कोठामा राख्ने गरिएको छ ।
कारागारमा ६ जना कर्मचारीहरु भए पनि संरक्षणको अभावमा निर्माणाधिन कारागार प्रवेशद्वारबाटै भत्कन शुरु गरेको छ भने थुनुवा राख्ने कोठा र बाहिरी भित्ता पनि भत्किएको छ । सहायक प्रमुख जिल्ला अधिकारी भेसराज खनालले कर्मचारी बस्ने कोठा पनि भत्किन थालेको छतबाट पानी चुहिने गरेको बताए ।
काम नहुँदा कारागारका ६ जना कर्मचारीमध्ये ४ जना जिल्ला प्रशासन कार्यालयमा काजमा खटिएको कारागार कार्यलय अर्घाखाँचीका प्रमुख प्रकास भट्टराईले बताए ।
कारागार मर्मत गरी सञ्चालनका लागि पटक पटक सभासद, नेता तथा कारागार विभागमा समेत अनुरोध गर्दा पनि मर्मत हुन नसकेको स्थानीय शान्ती समितिका संदस्य बिष्णुप्रसाद खनालले जानकारी दिए ।
प्रेमनारायण आचार्य, अर्घाखाँची

