थप समाचारसोमबार, साउन २१, २०७०
संस्कृत क्याम्पसमा अब लिम्बू भाषा पनि
१३ साउनमा लिम्बू भाषा पाठ्यक्रम निर्माण समितिले संस्कृत विश्वविद्यालय अन्तर्गतको किराती भाषा साहित्य विषय समितिलाई लिम्बू भाषाको पाठ्यक्रम बुझएपछि यही शैक्षिक सत्रदेखि ऐच्छिक विषयका रूपमा लिम्बूमा पढाइ हुने सम्भावना बढेको हो । लिम्बू भाषा पाठ्यक्रम निर्माण समितिका संयोजक अमर तुम्याहाङका अनुसार, समितिले उत्तरमध्यमा तहको प्रथम र दोस्रो वर्षका लागि पाठ्यक्रम तयार पारेको छ ।
१६ सदस्यीय समितिले बनाएको पाठ्यक्रम किरात याक्थुङ चुम्लुङका अध्यक्ष उत्तमसिं थाङ्देनले किराती भाषा साहित्य विषय समितिका अध्यक्ष तिलविक्रम नेम्बाङ (वैरागी काइँला)लाई बुझएका थिए । नेम्बाङले पनि लिम्बू भाषामा यो शैक्षिक सत्रदेखि नै पढाइ शुरू हुने सम्भावना रहेको बताए ।
क्याम्पसले पनि लिम्बू भाषामा पठनपाठन गर्न सहमति दिइसकेको छ । यसअघि लिम्बू विद्यार्थी मञ्च, संघीय विद्यार्थी युनियन लगायतले लिम्बू भाषामा पठनपाठन गराउन माग गरेका थिए ।
पूर्वाञ्चलका चार वटा प्लस टुमा अहिले पनि लिम्बू भाषामा पठनपाठन हुन्छ भने त्यो क्षेत्रका केही विद्यालयमा पनि कक्षा ५ सम्म लिम्बू भाषामा पढाइ हुन्छ ।

