समाचारमंगलबार, साउन २२, २०७०
निर्धारित मितिमा निर्वाचन गर्न बेलायती कुटनीतिज्ञको सुझाव
नेपालमा निष्पक्ष र स्वतन्त्र निर्वाचनका लागि बेलायत सरकारले २ अर्ब २ करोड रुपैयाँ सहयोग गर्ने वेलायती विदेश मन्त्रालयका दक्षिण एशिया हेर्ने निर्देशक गिल्स थम्पसनले बताएका छन् । उनले निर्वाचनलाई हिंसामुक्त बनाउन, महिला सहभागिता बढाउन तथा निर्वाचन आयोगका काम कारबाहीलाई सघाउन उक्त रकम खर्च हुने पनि जानकारी दिए ।
२१ साउनमा राजधानीमा आयोजित कार्यक्रममा ‘प्रतिस्पर्धात्मक खोज र निर्वाचन पत्रकारिताको अभियान घोषणा’ कार्यक्रममा बोल्दै नेपालस्थित बेलायती राजदुत एण्डी स्पार्कसले पनि निर्वाचनको मिति तोकिइसकेकाले उक्त अवधिमा निर्वाचन हुनैपर्ने बताए ।
नेपालस्थित बेलायती दुतावासको आर्थिक सहयोगमा खोज पत्रकारिता केन्द्र, नेपाल र थम्सन फाउण्डेसन लण्डनले प्रतिस्पर्धात्मक खोज र निर्वाचन पत्रकारिताको अभियान घोषणा गरेको हो ।
१ अप्रिलदेखि ३१ डिसेम्बरसम्म पाँच महिना चल्ने यो अभियानमा आगामी संविधानसभाको निर्वाचन र खोजमुलक विषयका समाचार लेख्ने चार जना पत्रकारलाई पुरस्कृत गरिनेछ । यो अवधिमा प्रकाशित/प्रसारित भ्रष्टाचार, मानवअधिकार उल्लंघन, दण्डहीनता तथा निर्वाचनसँग सम्बन्धित समाचार लेख्ने पत्रकारलाई मूल्यांकन समितिले छनौट गर्नेछ । खुल्ला प्रतियोगितामा छनौट भएका विजयीहरुले लण्डनको भ्रमणका साथै खोजमुलक पत्रकारिता बारे छोटो अवधिको तालिमको अवसर पाउनेछन् ।
कार्यक्रममा बोल्दै राजदूत स्पाकर्सले स्वतन्त्र र निष्पक्ष पत्रकारिता लोकतन्त्रका लागि अपरिहार्य भएको र यसले स्वतन्त्र निर्वाचन गराउन पनि भूमिका खेल्ने बताए । उनले आगामी निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र उत्तरदायीपूर्ण बनाउन निर्वाचनसँग सम्बन्धित रिर्पोटिङमा सघाउन देशैभरि पत्रकारहरुलाई तालिम दिन लागिएको बताए ।
अभियान अन्तर्गत, काठमाडौं, कन्चनपुर र इलाममा गरी १५० पत्रकारलाई तालिम प्रदान गरिनेछ । प्रशिक्षणका लागि बेलायतबाट २ जना प्रशिक्षक आउने दुतावासले जनाएको छ । बेलायती दुतावासको सहयोगमा हुन लागेको यो अभियान तेस्रो हो ।
