समाचारमंगलबार, साउन २२, २०७०
दाहालले भने, ‘वैद्यजीहरु चुनावमा आउने सम्भावना देख्दिन’
२२ साउनमा नेकपा–माओवादी लगायतका दलहरुसँग वार्ता गरेका उच्चस्तरीय राजनीतिक समितिका संयोजक समेत रहेका पुष्पकमल दहालले माओवादीले राखेको मागहरु हेर्दा ऊ निर्वाचनमा सहभागी हुने सम्भावना नदेखिएको बताएका छन् ।
दाहालले भने, “उहाँहरु (मोहन वैद्यलगायत) का माग हेर्दा चुनावमा सहभागी हुने सम्भावना देख्दिन ।”
वार्तापछि २२ साउनमै पोखरा आएका दाहालले यहाँ आयोजित पत्रकार सम्मलेनमा उच्चस्तरीय राजनीतिक समितिको बैठकले असन्तुष्ट दलहरुले राखेका मागहरुमध्ये सहमति गर्न सकिने विषयका बारे ‘बटम लाइन’ बनाउने बताए । “२५ र ११ वुंदा खारेज हुन सक्दैन, परिमार्जन हुन सक्छ,” दाहालले भने, “मंसीर ४ को चुनाव रोक्ने र विथोल्ने गरी सहमति गर्न सकिदैन ।”
सरकार परिर्वतन, चुनावको मिति सानुपर्ने, गोलमेच सम्मेलन जस्ता मागहरु वार्तामा राखेकोले यी मागलाई सम्वोधन गर्न नसकिने दाहालको भनाई छ । निर्वाचन नचाहाने केही शक्तिले सकार परिर्वतनको हल्ला चलाएको भन्दै अध्यक्ष दाहालले थपे, “यो सरकार परिर्वतन हुनै सक्दैन, यही सरकारको नेतृत्वमा चुनाव हुन्छ ।”
उपेन्द्र यादव नेतृत्वको मोर्चासँग पनि वार्ता गरेका दाहालले वार्ता निष्कर्षतर्फ अघि बढेको बताए । उनले मधेशवादी दलहरु चुनावमा सहभागी हुन तयार भएको भन्दै अशोक राई लागयतसँग पनि अनौपचारिक वार्ता भइरहेकोले केही दिनमै वार्ता सकारात्मक टुंगोमा पुग्ने विश्वास व्यक्त गरेका थिए ।
माधव बराल, पोखरा
