समाचारमंगलबार, साउन २२, २०७०

संविधान बनेपछि नेपाल आउँछुः सोनिया गान्धी

हिमालखबर

भारत भ्रमणमा रहेका नेपाली कांग्रेस सभापति सुशील कोइरालासँग २२ साउन साँझ भएको भेटमा सत्तारुढ युपिए गठबन्धन एवम् कांग्रेस आई अध्यक्ष सोनिया गान्धीले नेपालमा निर्वाचन भएर बहुदलीय लोकतन्त्र सुदृढ होस भन्ने आफ्नो चाहना भएको बताएकी छन् ।

भेटमा सहभागी कांग्रेस महामन्त्री प्रकाशमान सिंहका अनुसार सभापति कोइरालाले नेपाल भ्रमणको निम्ता दिएपछि जवाफमा गान्धीले नेपाल आउने आफ्नो पनि चाहना भएको तर, संविधान बनेपछि मात्रै नेपाल आउने बताइन् ।

उनले तोकिएको समयमै संविधानसभाको निर्वाचन भएमा मात्र लोकतन्त्रलाई संस्थागत गर्न मद्दत पुग्ने बताएको पनि सिंहले जानकारी दिए ।

भेटमा कोइरालाले सबै पार्टीहरूलाई सहभागी गराएर निर्वाचन गर्नका लागि राजनीतिक दलहरू वार्तामा केन्द्रीत रहेको बताएका थिए ।

“असन्तुष्ट दलहरूलाई पनि निर्वाचनमा सहभागी गराउन वार्ता चलिरहेको छ, निर्वाचननै राजनीतिक सङकटको निकास हो,” कोइरालालाई उद्धृत गर्दै सिंहले भने ।

कांग्रेस आई अध्यक्ष गान्धीले वीपी कोइराला लगायतका नेपाली नेताहरूले भारतको स्वतन्त्रता संग्रामको आन्दोलनमा पुर्‍याएको योगदानको स्मरण गरेकी थिइन् । त्यस्तै कोइरालाले नेपाली कांग्रेस र कांग्रेस आईबीच पुरानो सम्बन्ध रहेकोले यसलाई अझै प्रगाढ बनाउनु पर्ने भन्दै दुबै दलका  संस्थापक नेताहरुबीचको सम्बन्ध स्मरण गराएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>