थप समाचारबुधबार, साउन २३, २०७०
दुर्गममा साँच्चिकै नमूना विद्यालय
दुर्गम जिल्ला रुकुमको प्रभात माध्यमिक विद्यालयमा शहरी विद्यालयहरुले दिने सबैखाले सुविधाहरु पुगेका छन् । अंग्रेजी माध्यममा पढाई हुने यो विद्यालयमा कक्षा ३ सम्म वालमैत्री शिक्षण हुन्छ ।
२०३३ सालमा स्थापित विद्यालयको पूर्ण जिम्मा पछिल्लो समयमा समुदायले लिएपछि विद्यालयमा ब्यापक सुधार भएको हो ।
२१ सय वर्गमिटरमा फैलिएको विद्यालयका पाँचवटा भवनले पनि विद्यार्थी चाप धान्न नसक्दा थप भवन निर्माणको तयारी भइरहेको छ । एसएलसीमा ९० प्रतिशत परिणामा ल्याउने यस विद्यालयका विद्यार्थीहरु अधिकांश प्रथम श्रेणीमा उत्तिर्ण भइरहेका छन् ।
विद्यालयका सवै कोठाहरुमा एकैसाथ सूचना पुर्याउन माईक्रोफोनको व्यवस्था गरिएको छ । पुस्तकालय, सामुदायिक अध्ययन केन्द्र, प्राथमिक उपचार केन्द्र, कम्प्युटर कक्ष, टिभी कक्ष, खेलकुद केन्द्र , कार्यक्रम हल, सांस्कृतिक केन्द्र, चमेना गृह, विज्ञान प्रयोगशाला, छात्रावास तथा अतिथी गृहको समेत सुविधा भएको यो विद्यालयमा प्रधानाध्यापकले अन्य शिक्षकहरुमा पनि ब्यवस्थापनको जिम्मा हस्तान्तरण गरेका छन् ।
विद्यालयको विकासको लागि शिक्षकहरुले मासिक एक हजार रुपैयाँ विद्यालयको नाममा जम्मा गर्दै आएका छन् । विद्यालयमा १० बजे भन्दा ढिला आउने र विद्यालयको पोषाक नलगाउने शिक्षकले दैनिक ५० रुपैयाँ र विद्यार्थीले ५ रुपैयाँ जरीवाना तिर्नुपर्ने नियम छ जसले गर्दा शिक्षक तथा विद्यार्थीहरु समयमै र नियमित विद्यालय जान्छन ।
लक्ष्मण केसी, रुकुम
