समाचारबुधबार, साउन २३, २०७०
लखनउमा कोइराला र यादवबीच छलफल
६ दिने भारत भ्रमणका क्रममा २३ साउनमा उत्तरप्रदेशको लखनउ पुगेका कांग्रेस सभापति सुशील कोइरालाले त्यहाँका मुख्यमन्त्री अखिलेश यादवसँग बाँकेको सीमा लक्ष्मणपुरमा भारतले निर्माण गरेको बाँधका कारण नेपाली भूमि डुबानमा पर्ने गरेकोले समस्या समाधानका लागि आग्रह गरेका छन् ।
जवाफमा मुख्यमन्त्री यादवले बाँधले ल्याएको समस्या समाधान गर्न आफू सकारात्मक रहेको बताउँदै दुवै पक्षको हित हुनेगरी छिट्टै समाधानको योजना ल्याउने प्रतिबद्धता जनाएको भेटमा सहभागी कांग्रेस महामन्त्री प्रकाशमान सिंहले जानकारी दिए । त्यसैगरी भेटमा सीमा क्षेत्रका समस्या र आपसी हितका विषयमा पनि छलफल भएको थियो ।
यसअघि आजै कोइराला र भारतीय राष्ट्रवादी कांग्रेसका महासचिव डीपी त्रिपाठीबीच भेटवार्ता भएको थियो ।
भेटमा नेता त्रिपाठीले नेपालमा आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न संविधान सभाको चुनाव आवश्यक रहेको बताए ।
उनले आफूहरु निर्वाचित जनप्रतिनिधिहरुद्वारा लोकतान्त्रिक पद्धतिबाट सञ्चालित समृद्ध नेपालको पक्षमा रहेको पनि बताएका थिए ।
सभापति कोइराला विहारको समेत भ्रमण गरी २५ साउनमा स्वदेश फर्कने कार्यक्रम छ ।
