थप समाचारबुधबार, साउन २३, २०७०
कुसुण्डा जातिको वंश र भाषा अध्ययनका लागि रक्त परीक्षण
कुसुण्डा जातिका पूर्वजहरुको पत्ता लगाई उनीहरुको भाषाको समेत संरक्षण गर्ने उद्देश्यले दाङमा कुसुण्डाहरुको भेला गराई रक्त संकलन गरिएको छ ।
चिनको युनान प्रान्तस्थित फुनसिङ विश्वविद्यालयमा विद्यावारिधि अध्ययन गरिरहेका सुशील भण्डारीले कुसुण्डा भाषा सम्बन्धी अध्ययन गर्ने क्रममा उक्त रक्त परीक्षणको ब्यवस्था मिलाएका हुन् ।
कुसुण्डा भाषा लोपोन्मुख रहेको र फरक भाषा भएकोले यसको बिशेष अध्ययन गर्न थालेको भण्डारीले बताए ।
कुसुण्डा जाति नेपालमा कहिले र कहाँबाट प्रवेश गरे, दक्षिणपुर्वी एशिया र प्रशान्त महासागर क्षेत्रका कुनै जातिसँग कुसुण्डा जातिको वंशाणु मिल्छ वा मिल्दैन भन्नेबारे रक्त परीक्षणबाट जानकारी लिने त्रिभुवन विश्वविद्यालयका प्राध्यापक एवम् भाषाविद् डा. माधव पोखे्रलले जानकारी दिए ।
दाङ, रोल्पा, प्युठान, सुर्खेत र कपिलवस्तुका कुसुण्डालाई दाङमा भेला गराएर २३ साउनमा घोराहीस्थित दिपज्योती अस्पतालमा उनीहरुको रगत संकलन गरिएको छ । त्यस अवसरमा उनीहरुको स्वास्थ्य परीक्षण समेत गरिएको थियो ।
कुसुण्डा जाति खोलामा बगेको पानी नखाने, कुवाको पानी खाने, गोराको मासु खाने, भार्सेको मासु खाने, गाई नछुने, दुधदही नखाने, जंगलमा बस्ने अनौठो जाति भएका कारण यो समुदाय र भाषाको अध्ययन गर्न जरुरी रहेको प्राध्यापक पोख्रेललले बताए ।
अहिले नेपालभरमा कुसुण्डा भाषा बोल्ने ब्यक्ति दश जना पनि नभएको कुसुण्डा विकास समाजका अध्यक्ष धनबहादुर कुसुण्डाले जानकारी दिए ।
देविका घर्ती, दाङ
