समाचारबिहीबार, साउन २४, २०७०
चितवन बन्द फिर्ता (अपडेट)

तरुण दलले आह्वान गरेको चितवन बन्दका क्रममा नारायणगढमा कार रोक्दै कांग्रेस कार्यकर्ताहरु । तस्बीर: सविता श्रेष्ठ
नेपाली कांग्रेस चितवनको दिउँसो बसेको वैठकले आजै साँझ ५ बजेभित्रमा कार्यकर्ता रिहाइ गर्न अल्टिमेटम दिदै अपरान्ह तीन बजेबाट बन्द स्थगित गर्ने निर्णय गरेको हो ।
पक्राउ गरिएका कार्यकर्ता रिहा नभए २५ साउनदेखि पार्टीकै नेतृत्वमा आन्दोलन अघि बढाउने निर्णय भएको कांग्रेस चितवनका सचिव सुनील श्रेष्ठले जानकारी दिए ।
कुटपिटको अभियोगमा २२ साउनमा पक्राउ परेका तरुण दल भरतपुर नगर उपाध्यक्ष प्रमिश राई र कान्छी भनिने यमबहादुर कार्कीलाई विना शर्त रिहा गर्नु पर्ने माग राख्दै तरुण दलले चितवन बन्द गराएको हो ।
भारतीय सवारी साधनका चालकलाई कुटपिट गरेको अभियोगमा पक्राउ परेका राई र कार्कीलाई चितवन प्रहरीले केही सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्दा दर्ता गरेर अनुसन्धान अघि बढाएको छ ।
तरुण दल र नेविसंघले घटनामा संलग्न नभएकालाई विनाकारण पक्राउ गरिएको भन्दै विरोध जनाएका छन् । बन्दका क्रममा नारायणगढको पुलचोकमा प्रहरी र बन्दकर्ताबीच पटक–पटक झडप भएको थियो । झडपका क्रममा आफ्ना २० बढी कार्यकर्ता घाइते भएको तरुण दल चितवनले जनाएको छ ।
बन्दकर्ताहरुले भरतपुर ओरालोमा ना ४ ख ४२७२, आँपटारीमा ना ३ ख ४४०५ , नहरचोकमा ना ३ ख ७४३४ र रत्ननगरमा ना २ ख ६५४७ नम्बरको ट्रक र नारायणगढमा ना २५ प २२०७ नम्बरको मोटरसाइकल तोडफोड गरेका छन् ।
बन्दको क्रममा चितवनको विभिन्न स्थानबाट प्रहरीले ३० भन्दा बढी कांग्रेस कार्यकर्ताहरुलाई पक्राउ गरेको छ ।
————————————————————————————–
तरुण दलद्वारा चितवन बन्द
वाईसीएलको सिको गर्दै तरुण दलले २४ साउनमा चितवन बन्द गराएको छ । यसअघि १७ साउनमा वाइसीएलले चितवन बन्द गराएको थियो ।
व्यापारीसँग चन्दा असुल्दै गरेको आरोपमा पक्राउ परेका आफ्ना कार्यकर्तालाई रिहा गराउन एमाओवादीको युवादस्ता वाईसीएलले १७ साउनमा चितवन बन्द गराएको एकहप्ता नवित्दै भारतीय नागरिकलाई कुट्ने आफ्ना कार्यकर्ता छुटाउन नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दलले २४ साउनमा चितवन बन्द गराएको छ ।
१७ साउनको बन्दअघि वाइसीएलले अल्टिमेटम दिंदै १६ साउनमा पनि दुई घण्टा चितवन बन्द गराएको थियो भने तरुण दलले पनि २४ साउनको बन्दअघि २३ साउनमा एक घण्टा चक्का जाम गरेको थियो ।
बन्दकर्ताहरुले नारायणगढको पुल्चोक, शहीदचोक तथा पुर्वी चितवनको टाँडी लगायतका मूख्य बजारहरुमा प्रदर्शन गरिरहेका छन् । नारायणगढमा बन्दकर्ता र प्रहरी बीच ढुङ्गा हानाहान भएको छ । स्थिती नियन्त्रणमा लिन प्रहरीले तीन सेल अश्रु ग्याँस प्रहार गरेको प्रहरी निरीक्षक जीवलाल चुँदालीले जानकारी दिए ।
चितवनको विभिन्न स्थानबाट प्रहरीले ३० भन्दा बढी प्रदर्शनकारीहरुलाई पक्राउ गरेको छ । नारायणगढको पुल्चोकबाट नेपाल तरुणदल चितवनका अध्यक्ष रामकुमार श्रेष्ठ, सचिव रविन्द्र गौतम, कोषाध्यक्ष विनु पौडेल, पूर्वअध्यक्ष राजेश्वर खनाल लगायत १९ जना पक्राउ परेका छन् । पक्राउ परेकाहरुलाई वडा प्रहरी कार्यालय नारायणगढमा राखिएको छ ।
प्रदर्शनकारीले नारायणगढ क्षेत्रमा दुई वटा मोटरसाईकल तोडफोड गरेको वडा प्रहरी कार्यालय नारायणगढका प्रहरी निरीक्षक मदनजीत महराले जानकारी दिए । बन्दको क्रममा रन्ननगरमा ना २ ख ६५४७ नम्बरको मालबहाक ट्रकमा समेत तोडफोड भएको छ । सिमावर्ती जिल्लामा रोकिएका लामो दुरीका गाडीहरुलाई प्रहरीले स्कर्टिङ गरेर चितवन पार गराउने कार्य गरिरहेको महराले बताए ।
यसैबीच , नेपाली कांग्रेस चितवनले बिज्ञप्ति जारी गर्दै बन्दका क्रममा पक्राउ परेका सबै कार्यकर्ता तत्काल रिहा गर्न माग गरेको छ । जिल्ला कार्यसमिति चितवनका प्रवक्ता साजनकुमार महतोद्वारा जारी बिज्ञप्तिमा कार्यकर्ता रिहा नगरीए जस्तो सुकै कदम चाल्न सकिने चेतावनी दिइएको छ ।
भारतीय नागरिकलाई कुटेको आरोपमा प्रहरीले नेपाल तरुणदल भरतपुर नगर समितिका उपाध्यक्ष प्रमिश राई र यमबहादुर कार्कीलाई पक्राउ गरेपछि उनीहरुलाई छोड्न माग गर्दै तरुण दलले चितवन बन्द गराएको हो ।
राई र कार्कीले बोलेरो जीपमा आएका भारतीय नागरिकलाई सडकमा साइड नदिएको भन्दै कुटपिट गरेका थिए । प्रहरीले उनीहरुलाई केही सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्वा दर्ता गरेर अनुसन्धान अघि बढाएको छ ।
सविता श्रेष्ठ, चितवन
