समाचारआइतबार, आषाढ ३, २०६९
वैद्य समूहले पार्टीको नाम जुरायो, नयाँ पार्टी नेकपा (क्रन्तिकारी माओवादी)
यो प्रस्तावसँगै एमाओवादी पार्टी विभाजन हुने स्थितिमा पुगेको छ । ४ असारसम्ममा संस्थापन पक्षसँग कुनै सहमति नभए वैद्य पक्षले छुट्ट्रै पार्टी घोषणा गरेर अगाडि बढ्ने तयारी गरिरहेको छ ।
बौद्धस्थित शेर्पा सेवा समाजको सभाकक्षमा चलिरहेको राष्ट्रिय भेलाअन्तर्गत ३ असारको बन्दसत्रमा उपाध्यक्ष वैद्यले नयाँ पार्टीको प्रस्ताव पेश गरेका थिए ।
बन्दसत्रमा उपाध्यक्ष मोहन वैद्यले राजनितिक प्रतिवेदन र स्थायी समिति सदस्य देव गुरुङले पार्टीको नयाँ विधान पेश गरेको पोलिटब्युरो सदस्य नारायण शर्माले जानकारी दिए ।
उपाध्यक्ष वैद्यले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा संसोधनवादीसँग सम्बन्धविच्छेद गरी नयाँ पार्टी स्थापना गर्नुपरेको र नयाँ पार्टीको नाम नेकपा (क्रान्तिकारी माओवादी) राख्ने उल्लेख रहेको छ ।
शर्माले भने“नयाँ पार्टीको नाम नेकपा (क्रान्तिकारी माओवादी) राख्ने प्रस्ताव उपाध्यक्ष वैद्यले राख्नुभएको छ, त्यही नाम राख्ने वा अर्को नाम राख्ने भन्ने भेलाले तय गर्छ ।”
वैद्यले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा क्रान्तिद्वारा नयाँ जनवादी व्यवस्था ल्याउनुपर्ने र त्यसका लागि वातावरण बनाउनुपर्ने उल्लेख छ ।
त्यस्तै नयाँ गठन हुने पार्टीले फागुन १ गते महाधिवेशन गर्ने पनि प्रस्तावमा उल्लेख छ ।
त्यस्तै स्थायी समिति सदस्य देव गुरुङले प्रस्तुत गरेको विधानमा पार्टी अध्यक्षात्मक प्रणालीमा चल्ने र एकजना उपाध्यक्ष, एकजना महासचिव, एकजना सचिव रहने उल्लेख रहेको शर्माले बताए।
त्यस्तै विधानमा कोषाध्यक्ष नरहने र आर्थिक व्यवस्थापनका लागि आर्थिक विभाग बनाइने उल्लेख छ । बन्दसत्रमा २० टोली बनाइ प्रस्तुत प्रतिवेदनमा छलफल भएको र विधानमाथि सहभागीहरूले आ–आफ्नो धारणा राखेका थिए ।
बन्दसत्रमा प्रस्तुत प्रतिवेदन र विधानमाथि भोलिको बन्दसत्रमा २० वटै टोलीका प्रमुखले आ–आफ्नो टोलीको सुझाव, जिज्ञासा र निष्कर्ष सुनाउने बताइएको छ ।
४ असार साँझसम्ममा भेला सम्पन्न गरी उपाध्यक्ष वैद्यले पत्रकार सम्मेलन गरी नयाँ पार्टी गठनको घोषणा गर्ने सम्भावना रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
