समाचारबिहीबार, साउन २४, २०७०
सिकलसेलका विरामीद्वारा निशुल्क उपचार माग
२० साउनमा आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद्, थारू कल्याणकारिणी सभा, थारू महिला सञ्जाल र थारू नागरिक समाज कैलालीले पत्रकार सम्मेलन गरी सिकलसेल एनिमियाबारे अध्ययन अनुसन्धान गर्न सरकारीस्तरबाटै छुट्टै युनिट गठन गर्न माग गरेका छन् ।
उनीहरूले उपस्वास्थ्य चौकीदेखि अस्पतालसम्मका स्वास्थ्य निकायमा रोगबाट बच्ने उपायबारे सचेतना अभियान सञ्चालन गर्न, हरेक गाविसमा सिकलसेल एनिमियाको निशुल्क परीक्षण र रोगीलाई उपचार गर्न माग गरेका छन् ।
पत्रकार सम्मेलनपछि जिल्ला प्रशासन कार्यालयमार्फत् प्रधानमन्त्रीको कार्यालयलाई बोधार्थ दिइ स्वास्थ्य मन्त्रालयमा पठाएको ज्ञापनपत्रमा मलेरिया र कालाजार निदानमा जस्तै भूमिका निर्वाह गर्न सरकारलाई आग्रह गरिएको छ ।
हिमाल खबर पत्रिकामा समाचार सार्वजनिक भएपछि ध्यान आकृष्ट भएको जनाउँदै उनीहरूले देशको कुल जनसंख्याको सात प्रतिशत हिस्सा ओगटेको थारू समुदायमा देखिएको पुस्तैनी रोग नियन्त्रणका लागि जिम्मेवारी निर्वाह गर्न स्वास्थ्य मन्त्रालयलाई आग्रह गरेका छन् ।
थारू नागरिकसमाज कैलाली अध्यक्ष दिलबहादुर चौधरीले अन्तरिम संविधानमा स्वास्थ्य सेवामा पहुँच बढाउनु राज्यको दायित्व उल्लेख भएको बताउँदै थारू समुदायका कुनै पनि सदस्यलाई आधारभूत स्वास्थ्यसेवाबाट वञ्चित गराइए आन्दोलन गर्ने चेतावनी दिए ।
तुफान न्यौपाने, नेपालगञ्ज
सिकलसेल: पश्चिम तराईको रोग
http://www.himalkhabar.com/?p=35165

