समाचारशुक्रबार, साउन २५, २०७०

कांग्रेसद्वारा चितवन बन्द फिर्ता (अपडेट)

हिमालखबर

२५ साउन विहानैदेखि चितवन बन्द गराएको चितवन कांग्रेसले केन्द्रको निर्देशनमा दिउँसो एक बजेदेखि बन्द फिर्ता लिएको कांग्रेस चितवन जिल्ला कार्य समितिका सचिव सुनिल श्रेष्ठले जानकारी दिएका छन् ।

बन्दले गर्दा सर्वसाधारणलाइ मर्का परेको र मुसलमानहरुको पर्व इद पनि आजै भएकोले  कांग्रेस केन्द्रीय कार्यालयले बन्द फिर्ता लिन निर्देशन दिएपछि बन्द फिर्ता लिइएको श्रेष्ठले बताए । श्रेष्ठका अनुसार पक्राउ परेका कार्यकर्ता छुटाउन केन्द्रले नै पहल गर्ने भएको छ ।

भारतीय सवारी चालकलाई कुटेको आरोपमा प्रहरीले नियन्त्रणमा लिई केही सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्दा चलाएका तरुणदल भरतपुर नगर समिति उपाध्यक्ष प्रमिश राई र अर्का कार्यकर्ता यमबहादुर कार्कीको रिहाईको माग गर्दै कांग्रेसले २४ र २५ साउनमा चितवन बन्द आह्वान गरेको थियो ।
————————————————————————————————————————

कांग्रेसद्वारा चितवन दोस्रो दिन पनि बन्द

पक्राउ परेका कार्यकर्ता रिहाईको माग गर्दै नेपाली कांग्रेस चितवनले २५ साउन दोस्रो दिन पनि जिल्ला बन्द गराएको छ । लगातारको बन्दले चितवनको जनजीवन अस्तव्यस्त भएको छ ।

भारतीय नागरिकलाई कुटेको आरोपमा पक्राउ परेका आफ्ना कार्यकर्ता रिहाईको माग गर्दै २४ साउनमा नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दलले  चितवन बन्द गराएको थियो । २४ साउन ५ बजेसम्म कार्यकर्ताको रिहा गर्नुपर्ने अल्टिमेटम दिई दिउँसो तीन बजे बन्द फिर्ता लिएको कांग्रेसले कार्यकर्ता रिहा नभएपछि जिल्ला कांग्रेसको नेतृत्वमा २५ साउन विहानै देखि चितवन बन्द गराएको छ ।

वार्तामार्फत समस्या समाधान गर्न स्थानीय प्रहरी र प्रशासनले चासो नदिएपछि कार्यकर्ता रिहाईका लागि बन्द गर्नु परेको कांग्रेस चितवनका जिल्ला प्रवक्ता सजनकुमार महतोले जनाएका छन् ।

अहिले चितवनको नारायणगढ बजार क्षेत्रमा ठूलो संख्यामा सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएको छ । बन्दले चितवन ठप्प छ भने पूर्वपश्चिम राजमार्ग हुँदै देशभर आउजाउ गर्ने सवारी साधनहरु सीमा क्षेत्रमा अलपत्र परेका छन् । लगातारको बन्दले चितवनका वासिन्दाहरु मर्कामा परेका छन् ।

सडकमा साइड नदिएको भन्दै भारतीय सवारी चालकलाई कुटेको आरोपमा प्रहरीले २३ साउनमा तरुणदल भरतपुर नगर समितिका उपाध्यक्ष प्रमिश राई र यमबहादुर कार्कीलाई पक्राउ गरेपछि उनीहरुको रिहाईको माग गर्दै कांग्रेसले चितवन बन्द गराएको हो ।

यसअघि १७ साउनमा चन्दा असुली गरिरहेको बेला पक्राउ परेका आफ्ना कार्यकर्ता रिहा गराउन वाइसीएलले चितवन बन्द गराएको थियो । बन्दपछि वाइसीएलका कार्यकर्ताहरु धरौटीमा रिहा भएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>