समाचारशुक्रबार, साउन २५, २०७०
निर्वाचन होस् भन्ने भारतको चाहनाः कोइराला
६ दिने भारत भ्रमण पूरा गरी २५ साउनमा स्वदेश फर्केका कांग्रेस सभापति सुशील कोइरालाले भारतले नेपालमा संविधान सभाको निर्वाचन भई त्यसकै जगमा सिङ्गो देश राजनीतिक स्थिरता, शान्ति र विकासको बाटोमा अघि बढोस् भन्ने चाहना राखेको बताएका छन् ।
स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै सभापति कोइरालाले भने, “भारतले संविधानसभाको निर्वाचन भएर नेपालमा राजनीतिक स्थायित्व, शान्ति र बहुदलीय लोकतन्त्रको संस्थागत विकास होस् भन्ने चाहना राखेको छ ।”
भारतीय प्रधानमन्त्री मनमोहन सिंह, कांग्रेस–आईका अध्यक्ष सोनिया गान्धी, विदेशमन्त्री सलमान खुर्शीद, विदेश सचिव सुजाता सिंह, भारतीय जनता दललगायतका विभिन्न दलका नेताहरूसँग सभापति कोइरालाले भारत भ्रमणका क्रममा भेटवार्ता गरेका थिए ।
उनले विहार र उत्तरप्रदेशको भ्रमण गरी त्यहाँका मुख्य मन्त्रीहरूसँग छलफल गरेका थिए । छलफलमा नेपालमा राजनीतिक स्थिरता र शान्ति आओस् भन्ने सदाशयता भारतको रहेको पाएको सभापति कोइरालाले बताए ।
“भारतीय सरकार र नेताहरूसँग भएको छलफलपछि दुई पक्षीय सम्बन्ध एवम् सहयोग विस्तारका लागि भ्रमण सफल भएको ठानेको छु, चुनाव लोकतन्त्रको आत्मा भएकाले पनि त्यसका पक्षमा उहाँहरू देखिनुभएको पाएँ,” सभापति कोइरालाले भने ।
विहार र उत्तरप्रदेशका मुख्यमन्त्रीहरूसँग भएको भेटवार्ताका क्रममा दुई देशबीच सीमा क्षेत्रमा देखिएका बाढी, आपराधिक गतिविधिलगायतका समस्या समाधान गर्नेबारेमा पनि छलफल भएको र छलफलका क्रममा भारत त्यसबारेमा सकारात्मक रहेको उनले बताए ।
कांग्रेस–आईसँग नेपाली कांग्रेसको सम्बन्ध पुरानो रहेको र अन्य दलहरूसँग रहेको विगतदेखिको सम्बन्धलाई पनि नयाँ ढङगले विस्तार गर्न आफ्नो भ्रमणले सहयोग पुर्याएको कोइरालाको दाबी छ ।
भारत सरकारको निमन्त्रणामा सभापति कोइराला २० साउनमा भारत भ्रमणमा गएका थिए । उनका साथमा महामन्त्रीद्वय प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला र स्वकीय सचिव लक्ष्मण ढकाल थिए ।
