थप समाचारआइतबार, साउन २७, २०७०
गोर्खाल्याण्ड आन्दोलन रोक्न मुख्यमन्त्रीको अल्टिमेम
पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले गोरखा जनमुक्ति मोर्चालाई दार्जिलिंगमा ८ दिनदेखि जारी आन्दोलन रोक्न चेतावनी दिएपछि मोर्चाले उक्त अल्टिमेटम खारेज गर्दै जनताको कर्फ्यु लगाउने धम्की दिएको छ ।
बनर्जीले बन्द फिर्ता लिन वा त्यसको परिणामा भोग्नका लागि तयार रहन आन्दोलनकारीलाई चेतवानी दिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
कोलकातामा २६ साउनमा आयोजित पत्रकार सम्मेलनमा बनर्जीले आन्दोलनलाई गैरकानूनी भन्दै आफूलाई कडा कदम चाल्नका लागि बाध्य नपार्न भनेकी थिइन् ।
उनले बन्द फिर्ता भएपछि आफू मोर्चासँग वार्ताका लागि तयार भएको तर दार्जिलिंगलाई छुट्टै राज्यको मान्यता भने नदिइने अडान दोहोर्याएकी छन् ।
मोर्चाका प्रमुख विमल गुरुङले मुख्यमन्त्रीले आफ्नो बयान फिर्ता लिनुपर्ने भन्दै नभए सम्पूर्ण जनता सडकमा ओर्लिएर जनताको कर्फ्यु लगाउने बताएका छन् । उनले भनेका छन्, “यदी उनले अल्टिमेटम दिएर तानाशाही देखाउँदै हामीलाई झुकाउने सोचेकी छन् भने उनी भ्रममा छन्,” टाइम्स अफ इण्डियाको अनलाईन संस्करले उल्लेख गरेको छ ।
यसैबीच प्रहरीले मोर्चाका नेता नारायण प्रधानलाई आगजनी र हत्याको आरोपमा गिरफ्तार गरेको छ । यो सँगै पक्राउ पर्नेहरुको संख्या १४९ पुगेको छ ।
बन्दले दार्जिलिंगको जनजीवन कष्टकर बन्द गएको छ । त्यहाँ खाद्द सामाग्रीकै अभाव हुन लागेको बताइएको छ ।
एजेन्सीहरु
