थप समाचारमंगलबार, साउन २९, २०७०
बेग्लाबेग्लै घटनामा तीनको मृत्यु
सप्तरी फत्तेपुर–२ स्थित सामुदायिक वनमा घाँस दाउरा गर्न गएका स्थानीय ४० वर्षीय रामप्रसाद फुयालको भालुको आक्रमणबाट मृत्यु भएको छ । २८ साउन साँझ पौने ६ बजे वनमा भालुले आक्रमण गरेर फुयाललाई मारेको क्षेत्रीय प्रहरी कार्यालयले जनाएको छ ।
यस्तै मोरङ डाँगीहाट–८ का ८ वर्षीय बालक सुजन पौडेलको घर नजिकैको पोखरीमा पौडी खेल्ने क्रममा अपरान्ह साढे ५ बजे डुबेर मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ । त्यस्तै सिरहा बडहरामाल–५ स्थित राजमार्गमा बेलुका साढे ६ बजे ना ४ ख ३७९० नम्बरको बसको ठक्करले स्थानीय ५० वर्षीया बुधनीदेवी यादवको मृत्यु भएको छ । दुर्घटनापछि बस र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।
बालिका बलत्कृत
मोरङको केराबारीमा एक महिनाअघि बालिकालाई यौन शोषण गरेको आरोपमा पक्राउ परी दुई बृद्ध छुटेको घटना सेलाउन नपाउदै अर्की बालिका बलात्कृत भएकी छन् ।
यसअघि दलित बालिकालाई बलात्कार गरेको आरोपमा दुई बृद्ध पक्राउ परेका थिए भने २८ साउन राति अर्की दलित बालिकालाई बलात्कार गरेको आरोपमा अर्का बृद्ध पक्राउ परेका हुन् । केराबारी–८ का ८० वर्षीय दानबहादुर तामाङले ८ वर्षीया बालिकालाई फकाएर राति १० बजे आफ्नै घरमा लगि बलात्कार गरेको मोरङ प्रहरीले जनाएको छ ।
किशोरी भगाउने किशोर विरामी
यसैबीच नाबालक किशोरीलाई भगाएको आरोपमा पक्राउ परेका गोविन्दपुर–१ का अर्का नाबालक १५ वर्षीय सञ्जय ऋषिदेव हिरासतमै बिरामी परेका छन् ।
प्रहरी चौकी गोविन्दपुरको हिरासतमा बिरामी परेका उनलाई २८ साउन बेलुका कोशी अञ्चल अस्पतालमा भर्ना गरिएको प्रहरीले बताएको छ ।
कमल रिमाल/विराटनगर
