समाचारमंगलबार, साउन २९, २०७०
रामेछापमा पहिरोबाट सातको मृत्यु, एक बेपत्ता
रामेछापको खिम्तीमा गएको पहिरोमा परेर सात जनाको मृत्यु भएको छ भने एक जना हराइरहेका छन् ।
२८ साउन राति खिम्ती गाविसको खहरे खोलाले वडा नम्बर २ खिम्ती बजारमा रहेको रामबहादुर बुढाथोकीको घर बगाउँदा डेरा गरी बस्ने रामेछाप रस्नालुका ५५ वर्षीय भीमबहादुर तमाङ, उनकी श्रीमती ४५ वर्षीय बाटुली तमाङ र ७५ वर्षीया आमा बुद्धिमाया तमाङको मृत्यु भएको रामेछापका प्रमुख जिल्ला अधिकारी गोपाल पराजुलीले बताए ।
भीमबहादुरका १२ वर्षीय छोरा ढल्के तमाङ हराई रहेका छन् ।
त्यसैगरी अविरल बर्षाले खिम्ती–३ मा एक घर भत्कंदा ११ वर्षीय बालिका सीता सुनुवारको मृत्यु भएको प्रहरीले जनाएको छ । घरका अन्यले भने भागेर ज्यान जोगाएका थिए ।
त्यस्तै खिम्ती–४ कटुन्जेको शेरबहादुर थापाको घर बगाउँदा उनकी श्रीमती मिठू थापा, छोरी स्वस्थानी थापा र छोरा केदार थापाको मृत्यु भएको प्रहरीले जनाएको छ । शेरबहादुर कामका लागि विदेश गएका छन् ।
खहरे खोलामा आएको पहिरोले पुल समेत बगाएको छ । अहिले पुष्पलाल मार्गको खिम्ती रामेछाप सडक समेत अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
पहिरोमा परेर घाईते भएका ६ जनाको किर्नेटारको स्वास्थ्य चौकीमा उपचार भै रहेको र पहिरोले ६ वटा घर समेत बगाएको प्रहरीले जनाएको छ ।
अहिले घट्ना स्थलमा नेपाली सेना, प्रहरी, शसस्त्र प्रहरी र स्थानियले उद्धार कार्य गरीरहेको र बाटो खुलाउन डिभिजन सडक कार्यालय दोलखाबाट डोजर लगेर काम भै रहेको प्रमुख जिल्ला अधिकारी पराजुलीले जानकारी दिएका छन् ।
सर्मिला बुढाथोकी/दोलखा

