समाचारमंगलबार, साउन २९, २०७०
एमालेको पाँच वामपन्थी दलसँग तालमेल हुने
एमालेले नेकपा माले, नेकपा माले– समाजवादी, नेकपा संयुक्त, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) र राष्ट्रिय जनमोर्चासँग स्थानीयस्तरमा चुनावी तालमेल गर्ने एमाले प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले वताएका छन् ।
समाजको शान्तिपूर्ण परिर्वतनमा विश्वास राख्ने, लोकतान्त्रिक मान्यताप्रति प्रतिबद्ध, राष्ट्रियताप्रति निष्ठावान्, साझा पहिचान र सामाजिक सद्भावसहितको सङ्घीयतामा विश्वास राख्ने वाम दलहरुसँग एमालेले चुनावी तालमेल गर्न लागेको एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख प्रदीपकुमार ज्ञवालीले बताए ।
वैचारिक बहस टुङ्गिएपछि पार्टी एकता प्रक्रिया शुरु हुने भए पनि तत्कालका लागि स्थानीयस्तरमा चुनावी सहकार्य गरेर जाने सहमति भएको ज्ञवालीले जानकारी दिए ।
ज्ञवालीले परिवर्तनका लागि हिंसा अनिवार्य ठान्ने, कुनै न कुनै रुपमा अधिनायकत्वमा विश्वास राख्ने, राष्ट्रियताका बारेमा सधँै अस्थिर र जातीय सङ्घीयताको पक्षधरसँग चुनावी तालमेल सम्भव नहुने प्रष्ट पारे । उनले भने, “खास शक्तिसँग चुनावका लागि राष्ट्रव्यापी तालमेलको सम्भावना नभए पनि लोकतान्त्रिक वामपन्थीसँग स्थानीय तहमा एकले अर्कालाई सघाउन सक्छौँ, विचार मिल्ने वामपन्थीको एउटै केन्द्र बन्नुपर्छ भन्ने एमालेको मान्यता हो ।”
रासस
