थप समाचारमंगलबार, साउन २९, २०७०
संरक्षण केन्द्रबाट बालबालिकाको उद्धार
एक वर्षदेखि बालगृह संचालन गरेको पोखराको नयाँगाउँस्थित ‘असाहय तथा दृष्टिविहीन संरक्षण केन्द्र’ मा बालबालिकाहरु विचल्ली अवस्थामा रहेको र केन्द्र स्वयम् गैरकानूनी रुपमा सञ्चालनमा रहेकाले त्यहाँ रहेका चार बालक र एक बालिकालाई स्थानीय प्रशासनको अगुवाईमा २९ साउनमा उद्धार गरिएको छ ।
उद्धार गरिएका बालबालिकामा आशीशराज ओझा, उनका भाई अयुग ओझा (दाङ), महेश बोहोरा (बाजुरा), आशा बल (मकवानपुर) र बरदान तामाङ (धादिङ) रहेका छन. । उनीहरुलाई बाल हेल्प लाईन नेपाल सिविनमा राखिएको छ ।
सिविनका स्थानीय प्रमुख प्रेम सोङमेनले दुई बालकलाई लिन अभिभावक आएकोले प्रक्रिया पुर्याएर जिम्मा लगाउने र तीन जनालाई अन्य बालगृहमा राख्ने तयारी भएको जानकारी दिए । ७ देखि ९ वर्षसम्मका ती बालबालिका कालिका उच्च माविमा १ कक्षामा अध्ययन छन् ।ओझाका दाजु भाईलाइ लिन उनकी आमा आएकी छन् ।
असाहय तथा दृष्टिबिहीन संरक्षण केन्द्रका अध्यक्ष वकिल मियाँ अन्सारीले आर्थिक मामलिामा संचालकहरुबीच विवाद भएपछि खर्चको अभाव भएको बताए । संचालक समितिका ६ जना सदस्य नै दृष्टिविहीन रहेको केन्द्रमा मासिक ३० हजार खर्च लाग्ने गरेको थियो । साँस्कृतिक कार्यक्रम गरेर संकलित रकमबाट बालगृह संचालन गरेको र अरु कुनै स्रोत नहुँदा खर्च अभाव भएको अन्सारीको भनाई छ ।
जिल्ला बालकल्यण समिति कास्कीका बाल अधिकृत भरतराज बरालका अनुसार बालगृह संचालन गर्दा पूरा गुर्नपर्ने कुनै पनि मापदण्ड केन्द्रले पुरा गरेको छैन । बालबालिका उद्धार गर्न केन्द्रमा नै पुगेका कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन शर्माले एनजिओका रुपमा दर्ता भएर केन्द्रले बालगृह चलाउनु कानू विपरित भएकोले संस्था खारेज गरिने बताए ।
माधव बराल, पोखरा
