थप समाचारमंगलबार, साउन २९, २०७०
भारत पाकिस्तान सीमामा चौथो दिन पनि गोली हानाहान
भारत प्रशासित काश्मिरको नजिकै रहेको सीमानामा दुई देशका सैनिकले गोली चलाएको भारतीय पक्षबाट पुष्टि भएको छ । काश्मिर शहरबाट करिब १८५ किलोमीटर दक्षिण पश्चिममा पर्ने सीमाक्षेत्र ‘लाइन अफ कन्ट्रोल’मा गोली हानाहान भएको हो ।
गोली प्रहारबाट भारतीय पक्षतर्फ भने कुनै क्षति नभएको बताइएको छ । एकजना भारतीय सुरक्षा अधिकारीले यस बारेमा मङ्गलबार अपरान्ह सो प्रतिक्रिया दिएका छन् ।
पाकिस्तानको विदेश मन्त्रालयले २८ साउनमा जारी गरेको विज्ञप्तिमा भारतीय पक्षले गोली चलाई पाकिस्तानी नागरिकको हत्या गरेको जनाएको छ । साथै उक्त विज्ञप्तिमा भारतले यी दुई देशको युद्धविरामको पनि उल्लङ्घन गरेको जनाइएको छ ।
भारत र पाकिस्तानले सन् २००३ मा उक्त सीमा क्षेत्रमा युद्धविराम गरेको भए पनि बेलाबेला युद्ध विरामको उल्लङ्घन हुँदै आएको छ ।
उता काश्मिरमा हालैमात्र पाकिस्तानले पाँचजना भारतीय सीमा सुरक्षा बलका सदस्यको हत्या गरेपछि त्यसबारेमा पनि यी दुई देशबीचमा विवाद उत्पन्न भइरहेको छ । भने २५ साउनदेखि दुई देशको सीमाक्षेत्रमा तनाव कायम छ । भारत प्रशासित कश्मिर क्षेत्रमा तनाव बढ्दै गएपछि आतंकवादीहरुको घुसपैठ भएको भन्दै कर्फ्यू लगाइएको छ ।
पाकिस्तान र भारतको स्वतन्त्रता दिवस यसै अगस्ट महिनाको १४ र १५ तारिखमा आइरहेको छ । सो समय वरिपरि आएर यी दुई देशका बीचमा यी आक्रमणका घटनाहरु भइरहेका छन् ।
यसैबीच प्राप्त पछिल्लो समाचारमा आज भएको सो गोली हानाहनको सुरुवात पहिला पाकिस्तान पक्षले गरेको भारतले जनाएको छ ।
एएफपी

