थप समाचारबुधबार, साउन ३०, २०७०

गोरखाल्याण्ड मुद्दाले भारतीय लोकसभा स्थगित

हिमालखबर

'जनकर्फ्यु' ले सुनसान दार्जिलिंगको सडकमा बसेका सञ्चारकर्मीहरु । तस्बीर सौजन्य: दार्जिलिंग टाइम्स

३० साउनमा लोकसभा बैठकको शून्य समयमा बोल्दै भाजपा नेता जसवंत सिंहले दार्जीलिंग (गोरखाल्याण्ड) लाई वेग्लै राज्यको मान्यता दिनुपर्ने माग गरेपछि  तृणमूल कांग्रेसका सदस्य उत्तेजित हुँदै चर्को विरोध गरेका थिए ।

त्यस्तै तेलुगू देशम पार्टीका सदस्यहरुले लोकसभा अध्यक्षको कुर्सी अगाडि पुगेर तेलंगाना विरोधी नारा लगाउन थालेपछि सदनको कार्वाही दिउँसोसम्मका लागि स्थगित गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

भाजपाले तृणमुल कांग्रेसका सांसद कल्याण बनर्जीले सिंहमाथि दुर्व्यवहार गरेको भन्दै माफी माग्नु पर्ने बताएको छ ।

जसवन्त सिंह दार्जिलिंगबाट निर्वाचित सांसद हुन् । सिंहले गोरखाल्याण्ड मुद्दामा सहमति जनाएपछि दार्जिलिंगबासीले उनलाई निर्वाचित गरेका थिए ।

यसैबीच दार्जिलिंगमा २९ साउनदेखि आन्दोलनकारीहरुले लगाएको ‘जन कर्फ्यु’ ३० साउनमा पनि जारी छ । स्थानीयवासी घरबाट बाहिर ननिस्किएर ‘जनकर्फ्यु’ लगाएका हुन् ।

न्यायालयले बन्दलाई गैर कानूनी भन्दै दार्जिलिंगमा शान्ति सुब्यवस्था कायम हुनुपर्ने आदेश दिएपछि पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले आन्दोलनकारीहरुलाई ७२ घण्टे अल्टिमेटम दिएकी थिइन् ।

गोरखा जनमुक्ति मोर्चा (गोजमो) को नेतृत्वमा आन्दोलनरत ८ पार्टीहरुले न्यायालयको आदेशलाई सम्मान गर्दै आन्दोलनका अन्य विकल्प खोजिने बताएका छन् ।

३१ साउनमा भारतको स्वतन्त्रता दिवस भएको र लामो समयको बन्दले सर्वसाधारण समेत मर्कामा परेको भन्दै ३१ साउनदेखि चार दिनसम्म आन्दोलनका कार्यक्रम स्थगित गरिएको गोरखा जनमुक्ति मोर्चाले जनाएको छ ।

गोजमोका अध्यक्ष विमल गुरुङले आन्दोलन नरोकिने भन्दै ३ भदौदेखि आन्दोलनका नयाँ कार्यक्रमहरु ल्याइने बताएका छन् ।
छुट्टै गोरखाल्याण्डको माग गर्दै आन्दोलन गरिरहेकाहरुलाई प्रहरीले ब्यापकमात्रामा धरपकड गरिरहेको छ । अहिलेसम्म २५० भन्दा बढी नेता कार्यकर्ताहरु पक्राउ परेको गोजमोका अध्यक्ष विमल गुरुङले बताएका छन् ।

एजेन्सीहरु

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>