थप समाचारशुक्रबार, साउन ३२, २०७०
माओवादीले चन्दा मागेपछि कैलालीमा झडप
धनगढी–डडेल्धुरा राजमार्गस्थित धनगढीदेखि झन्डै ७० किलोमिटरको दूरीमा रहेको फलटुडे बजारमा नेकपा–माओवादीका कार्यकर्ताले ट्रक चालकसँग चन्दा मागेपछिको विवाद बढदै जाँदा यातायात व्यवसायीसँग झडपसमेत भएको र केही घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
स्थिति नियन्त्रणमा लिन सामान्य बल प्रयोग गरिएको प्रहरी उपरीक्षक मोहन जोशीले बताएका छन् ।
काठ बोकेका चारवटा ट्रकका चालकसँग नेकपा–माओवादीका कार्यकर्ताले चन्दा माग गर्दै ट्रकको साँचो थुतेपछि दुवै पक्षबीचको विवादले उग्ररुप लिएको हो ।
अहिले घटनास्थलमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ । चन्दा माग गर्नेले चालकमाथि कुटपिट गरेको भन्दै विरोधमा यातायात व्यवसायीले चक्काजाम गरेपछि धनगढी–डडेल्धुरा राजमार्ग हुँदै गन्तव्यतर्फ हिँडेका कैयौँ सवारीसाधन बीचबाटामै रोकिएका छन् ।
प्रहरी उपरीक्षक जोशीले चन्दा माग गर्नेमध्येका दुईलाई प्रहरीले पक्राउ गरी ट्रकको साँचो नियन्त्रणमा लिएको बताए ।
