थप समाचारशनिबार, भाद्र १, २०७०
महोत्तरीमा लाखौँको डकैती, कैयौँ घाइते
गौशाला–६ स्थित मिश्री साह सोनार, वीरबल महतो, भरत महतो, राजकिशोर महतो, देवशरण महतो र रामसोगारथ साहको घरमा ३२ साउन राति आएको डाँका समूहले लुटपाट गरेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक गिरीले बताएका छन् ।
राति करिब डेढ बजेको समयमा लाठी, रड, खुकुरीलगायत घरेलु हातहतियारसहित आएका डाँकाहरुले नगद, सुन, चाँदीका गरगहना, मोबाइल र अन्य सरसामान गरी चार लाखभन्दा बढी मूल्यबराबरको धनमाल लुटेर लगेको पीडित परिवारले बताएका छन् ।
डाँका समूहले पालैपालो ६ वटै घरमा लुटपाट गरेपछि होहल्ला हुँदा पीडित परिवार र स्थानीयवासीले लुटेराहरूको प्रतिकारसमेत गरेका थिए । तर लुटेराले पीडित रामसोगारथ साह र राजकिशोर महतोलाई लाठीले कुटेर घाइते बनाएका छन् भने स्थानीय जिनिस कापरलाई खुकुरीले हानेर गम्भीर घाइते बनाएका छन् ।
लुटेराहरू प्रतिकारमा उत्रेका स्थानीय ६ जनालाई समेत कुटपिट गरी भागेका थिए । डाँकाको कुटाइबाट घाइते भएकाहरूको स्वास्थ्यचौकी गौशालामा उपचार भइरहेको प्रहरी निरीक्षक गिरीले बताए ।
