समाचारसोमबार, भाद्र ३, २०७०
खेत सिमसार बनेपछि देश छाड्दै कृषक
कञ्चनपुरकोे दक्षिणी गाविस रामपुरविलासपुर–८ कुण्डाका १०४ कृषक घर परिवारका युवा विदेश पलाउन हुन थालेका छन् । महाकाली सिँचाइ दोस्रो चरणको नहरको पानी चुहिएर उक्त क्षेत्रका कृषक बिचल्लीमा परेका छन् ।
पहिलेदेखि नै खेतीलाई मुख्य जीवन निर्वाहको माध्यम बनाएका कृषकहरु खेतमा पानी जमेपछि, के गर्ने भन्नेमा चिन्तित बन्दै गएका छन् ।
स्थानीय नहर पीडित कृषक तुलाराम चौधरीले खेतमा पूरै पानी जमे पछि आफूहरू मर्कामा परेको बताए । एक बिगाह जमिन भएको र उक्त जमिन पानी-पानी भरिएकाले बाँच्नका लागि अन्यन्त्र जानुपर्ने बाध्यता भएको उनले सुनाए ।
पहिले ३० क्विन्टल धान हुने खेतमा आजभोलि खानलाउन समेत नपुग्ने भएकाले बाँच्नका लागि पलायन हुनु परेको चौधरीले बताए ।
बहुबाली उत्पादन हुने खेतमा पानी जमे पछि, आफू जीवन निर्वाह गर्न भारत पलाउन हुनु परेको अर्का नहर पीडित राजु चौधरीले दुखेसो गरे । उनले भने, “भएको खेत पानीले डुबेर काम नलाग्ने भएको छ, जीवन निर्वाहका लागि भारत जानु पर्ने भयो ।”
महाकाली नहरको पानी चुहिएर उक्त क्षेत्रमा ५०० बिगाह उत्पादनमुखी भूमि सिमसारमा परिणत भएको हो । स्थानीय गोपाल चौधरीले भएको खेत सिमसारमा परिणत भए पछि, ३२५ जना विद्यार्थीको पढाइसमेत बर्बाद भएको बताउँछन् । रासस
