समाचारमंगलबार, भाद्र ४, २०७०

हिंसाको अवशेष बोक्दै बालबालिका

हिमालखबर

“हामी गरिब मान्छे उपचार गर्ने कुरा त कता हो कता लिवाङसम्म आउने भाडासमेत हुँदैन ।” तत्कालीन नेकपा माओवादी र सत्तापक्षबीचको सशस्त्र हिंसाका बेला बम विष्फोटनबाट घाइते भई शरीरमा बमका छर्रा बोकेका रोल्पा पाखापानीका बालबालिका यस्तै पीडा सुनाउँछन् ।

१० बैशाख २०६२ मा धारामा नुहाउन गएका रोल्पा पाखापानी–१ का बालबालिकाले बेवारिसे अवस्थाको बम खेलौना ठानेर खेलाउँदा विष्फोट भई पाँचजनाको मृत्यु भएको थियो । ११ वर्षीय जङ्गबहादुर वली, १२ वर्षीय विष्णु वली, सात वर्षीय जयबहादुर वली, तीर्थराज वली र शेरबहादुर वलीको विष्फोटबाट ज्यान गएको थियो भने ६ वर्षीया जयकली वली, आठ वर्षीया ललिता वली, तीन वर्षीय रत्नबहादुर वली, १० वर्षीय अमृत वली र १४ वर्षीय फौंडबहादुर वली अङ्गभङ्ग भई अहिलेसम्म घाइते जीवन बाँच्न विवश छन् ।

देश गणतन्त्रसम्म आइपुग्दासमेत उनीहरूका बारेमा कसैले वकालत गरेका छैनन् । बमको छर्राले असह्य पीडा हुने बताउँदै ११ वर्षीय रत्नबहादुर वली भन्छन्, “पढ्ने बेला र अलि दिमाग खियाउने काममा निकै टाउको दुख्छ ।” उनी ३ वर्षको छँदा विष्फोटनमा परेका थिए ।

माओवादीका लडाकु र र शाही नेपाली सेनाबीच २०६१ चैतमा दलसिङेमा भिडन्त भएको थियो । भिडन्तका क्रममा बेवारिसे छोडिएका बम विष्फोट भई उक्त दुर्घटना भएको थियो ।

आफ्नो ११ वर्षीय छोरा जङ्गबहादुर वली गुमाएको र १३ वर्षीया छोरी जयकली घाइते भएको दुखद घटना सम्झिंदै बाबु बिरु वलीले सशस्त्र हिंसाले घरपरिवारको विचल्ली भएको बताउँछन् । घाइते छोरीको निधार र शरीरका विभिन्न भागमा अहिले पनि बमका छर्रा रहेका छन् । “उपचार गर्न आर्थिक अवस्था कमजोर छ । कसैले उपचारमा सहयोग गरेका छैनन्”, उनले भने, “छोरी छर्राले गर्दा बिरामीमात्र भइरहन्छे ।”

अभिभावकहरुका अनुसार विष्फोटमा घाइते पाँच बालबालिकालाई त्यसबेला रुकुमको सल्ले अस्पतालमा सामान्य उपचारपछि घर फर्काइएको थियो ।

शान्ति प्रक्रियापछि काठमाडौंको कान्ति बाल अस्पतालसम्म लगिएका घाइते फौंडाको शरीरमा ७ वटा बमका छर्रा रहेको अस्पतालले पुष्टि गरेको छ । आर्थिक अवस्था कमजोर भएकाले छोराको निधार, टाउको, छाती, कम्मर, हात, खुट्टामा रहेका बमको छर्रा निकाल्न नसकिएको घाइते फौंडाका बुबा बलबहादुरले बताए ।

छाती र निधारको छर्रा निकाल्दामात्र रु ५० हजार खर्च भएपछि अभिभावकले फौंडालाई घर फर्काएका थिए । “बाँकी पाँचवटा छर्रा अझै शरीरमै छन्”, बलबहादुर भन्छन, “रगत र पैसाको अभावमा छोराको उपचार नगरी फर्काएँ ।”

घटनास्थलमै माइलो छोरा गुमाएकी रती वलीका जेठा छोरा अमृत र कान्छा छोरा रत्न पनि गम्भीर छन् । घाइते दुवै छोराको बमको छर्रा निकाल्न नसक्दा उनीहरू बिरामी परिरहन्छन् । “कान्ति बाल अस्पतालमा पुर्‍याए“ । छोराहरूको शरीरभरि बमका छर्रा देखियो”, रती भन्छिन, “छर्रा निकाल्नका लागि रगत र पैसा चाहिने रहेछ । म गरिबले कसरी ल्याउनु ।”

अमृतको शरीरको सात ठाउँमा बमका छर्रा छन् भने रत्नको टाउकोभरि छर्रैछर्रा छन् । कम्मर र खुट्टामा मात्र चारवटा छर्रा छन् । पीडाका कारण रत्नको मानसिक अवस्थासमेत राम्रो छैन । घाइते ललिताको देब्रे हात र छातीमा बमका छर्रा छन् ।

घाइते बालबालिकाहरू अहिलेसम्म पनि शान्ति तथा पुनर्निर्माण मन्त्रालयमा सूचीकृत भएका छैनन् ।

गाउँघरमा कसैले जानकारी नदिएकाले घाइते फाराम नै नभरेको अभिभावकहरू बताउँछन् । अहिलेसम्म सरकारबाट कुनै पनि सहयोग नपाएको उनीहरूको भनाइ छ । “जसको हात माथि छ, उपचार भत्ता सबै उसैले पाउँदोरहेछ । सरकारले पनि उसैलाई मात्र हेर्दोरैछ । हाम्रो त को छ र ।”

सामान्य घाइते तथा सशस्त्र युद्धबाट भन्दा पनि अन्य कारणले अपाङ्ग भएकाहरूले समेत उपचार तथा भत्ता पाउने गरेको भन्दै उनीहरूले जनताप्रति उत्तरदायी सरकार हो भने आफूहरूलाई पनि हेर्न आग्रह गरे । पीडितको उपचारका लागि कसैलाई काखा र कसैलाई पाखा नगर्न सरोकारवालालाई उनीहरूको सुझाव छ ।

जिल्ला बाल संरक्षण अधिकृत गोकर्ण पुनका अनुसार जिल्लामा द्वन्द्वका बेला ८४ बालबालिकाले ज्यान गुमाएका थिए ।
राससको सहयोगमा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>