समाचारमंगलबार, भाद्र ४, २०७०

राजनीतिक समितिको आग्रह आयोगद्वारा अस्वीकार

हिमालखबर

उच्चस्तरीय राजनीतिक समितिका संयोजक सुशील कोइरालासहित अन्य शीर्ष नेताहरूसँग ४ भदौमा भएको छलफलमा प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले मतदाता नामावली संकलनको म्याद अरु एक हप्ता बढाउन नसकिने बताएका छन् ।

यसअघि समितिले मतदाता नामावली संकलनका लागि अर्को एकहप्ता म्याद थप्न निर्वाचन आयोगलाई आग्रह गर्ने निर्णय गरेको थियो ।

दलहरूकै आग्रहमा निर्वाचन आयोगले १ देखि ७ भदौसम्म तस्वीरसहितको मतदाता नामावली सङ्कलनको म्याद थप गरेको थियो ।

म्याद थपका लागि आग्रह गर्न पुगेका उच्चस्तरीय राजनीतिक समितिमा रहेका नेताहरुसँग आयोगका पदाधिकारीबीच भएको छलफलपछि प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले ४ मंसीरका लागि तोकिएको निर्वाचनलाई ध्यान दिई अब नामावली सङ्कलनको अवधि प्राविधिक कारणले थप्न नसकिने बताए ।

दलका शीर्ष नेताहरूले मतदाता नामावली सङ्कलन कार्य थप्न आयोगसमक्ष आग्रह गरेपनि आयोगले अस्वीकार गरेको नेकपा एमालेका नेता रघुजी पन्तले जानकारी दिए ।

छलफलमा उच्चस्तरीय राजनीतिक समितिका संयोजक कोइराला, नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल, एमाओवादीका नेता नारायणकाजी श्रेष्ठलगायत नेताहरू आयोग पुगेका थिए ।

आयोगले निर्वाचन तयारीका लागि ९० दिनको समय चाहिने भन्दै निर्वाचनसम्बन्धी सबै सहमति र सम्झौता त्यसअघि नै गर्न सरकार र समितिको ध्यानाकर्षण गराएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>