थप समाचारमंगलबार, भाद्र ४, २०७०
इजिप्टमा मुस्लिम ब्रदरहुडका प्रमुख पक्राउ
इजिप्टमा अपदस्थ राष्ट्रपति मोहम्मद मोर्सीको पुनर्वहाली र सैनिक सरकार खारेजीको माग गर्दै आन्दोलन गरिरहेको मुस्लिम ब्रदरहुडका वरिष्ठ नेता मोहमद बदिआ पक्राउ परेका छन् । हिंसा र हत्या भड्काएको आरोपमा सरकारले केही समयअघि पक्राउ पुर्जी जारी गरेपछि उनी भूमिगत भएकाथिए।
विपक्षी नेता वदिआको गिरफ्तारी लगत्तै मुस्लिम ब्रदरहुडले उपप्रमुख मोहमुद एजातलाई सर्वोच्च निर्देशकको रूपमा स्थापना गरेको छ ।
राष्ट्रपति मोहम्मद मोर्सीलाई बर्खास्त गरिएपछि आन्दोलनमा उत्रेकाहरू विरूद्ध सरकारले कारवाही तीव्र बनाएपछि इजिप्टमा संकटकाल लागु गरिएको स्थिति छ। बदियाको पक्राउले मुलुकमा नयाँ हिंसात्मक घटना हुने आशङ्का गरिएको छ ।
मोर्सीका समर्थकहरू तथा सुरक्षा सेनाबीचको सङ्घर्षमा अहिलेसम्म करिब ९०० व्यक्तिको मृत्यु भएको आधिकारिक पुष्टि भइसकेको छ भने विद्रोहीहरुले मर्नेको संख्या हजारौं भएको दाबी गरेका छन् ।
पछिल्लो रक्तपातमा इस्लामी उग्रवादीहरुले तनावग्रस्त सिनाइ प्रायःद्वीपमा २५ प्रहरीको हत्या गरेका छन् । त्यसको केही घण्टा अघि प्रहरीको हिरासतमा रहेका मुस्लिम ब्रदरहुडका ३७ सदस्य मारिएका थिए ।
सेनाले ३ जुलाईमा अपदस्थ गरेपछि मोर्सीलाई गोप्य स्थानमा राखिएको छ र न्यायिक स्रोतले उनीमाथि नयाँ आरोप लगाएको बताएका छन् । गृह मन्त्रालयले प्रहरीले ब्रदरहुडका प्रमुख वदिआलाई राबा अल–अदाविया चोकमा पक्राउ गरेको जानाकारी दिएको छ । यहाँ मोर्सीका समर्थकहरूले लगाएको शिविरलाई प्रहरीले हटाउन खोज्दा बुधबार २८० प्रदर्शनकारीको मृत्यु भएको थियो ।
केही दिनअघिका विरोध प्रदर्शनहरुका क्रममा बदिआका छोरा अम्मार मारिएका थिए।
ब्रदरहुडको राजनीतिक संगठन फ्रिडम एण्ड जस्टिस पार्टीले वर्तमान उपनेता महमौद एज्जातले अहिलेको लागि बदिआको भूमिका निर्वाह गर्ने आफ्नो वेबसाइटमा जनाएको छ।

