समाचारबिहीबार, भाद्र ६, २०७०

निर्वाचन सारे दुर्घटनाः कोइराला

हिमालखबर

आगामी संविधानसभा निर्वाचनका लागि राजनीतिक दलबीच सहमतिका लागि दबाब दिन रिपोर्टर्स क्लब नेपालले बुझाएको ज्ञापनपत्र लिंदै कांगे्रस सभापति सुशील कोइरालाले राजनीतिक र संवैधानिक निकासका लागि चुनावबाहेक अर्को विकल्प नभएकाले नेकपा–माओवादीलाई समेत निर्वाचनमा ल्याउन सफल हुने दाबी गरेका छन् ।

“एमाओवादीका नेताहरूले सुरुदेखि नै भन्दै आउनुभएको थियो, हेर्नु होला वैद्यजीहरू निर्वाचनमा आउनुहुन्न, तर पनि नेपाली कांग्रेसलगायतका दलले वैद्यजीलाई निर्वाचनमा सहभागी गराउन प्रयत्न गरिरहेका छौं, हरेस खाएका छैनौं,” सभापति कोइरालाले भने ।

कोइरालाले भने, “मङ्सिर ४ गतेका लागि तोकिएको निर्वाचन अवश्यंभावी छ, निर्वाचन हुन्छ, कसैले रोक्न सक्दैन ।”

सकारात्मक उद्देश्य लिएर राम्रो परिणाम निकाल्न गरिएको आन्दोलनले अप्रिय स्थितिसमेत निम्त्याउन सक्छ भन्ने पक्षलाई हेक्का राखेर नेकपा–माओवादी आन्दोलन त्यागेर वार्ता र सहमतिका आधारमा निर्वाचनमा भाग लिने विश्वास व्यक्त गर्दै उनले शान्ति प्रक्रिया र लोकतन्त्रको स्थायित्वका लागि नयाँ संविधान जारी गर्न सबै राजनीतिक दलहरू जिम्मेवारीका साथ निर्वाचनमा जानु जरुरी रहेको बताए ।

“कसैले पनि हारेको अनुभूति महसुस नगरोस्् भनेर नेपाली कांगे्रस गम्भीर र लचिलो भएर भूमिका निर्वाह गरिरहेको छ, वैद्यजीले वार्ताको मर्म बुझ्नु हुनेछ, निर्वाचनको निम्ति लचिलो भएर आउनुहुनेछ” – सभापति कोइरालाको भनाई थियो ।

वैद्यले गोलमेच, भावी संविधानको अन्तरवस्तुमा सहमतिलगायतका विषय उठाए पनि त्यसको स्वरूपबारे स्पष्ट नभएको उनले बताएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>