समाचारबिहीबार, भाद्र ६, २०७०
समिति र मोर्चाबीच दलहरुको सम्मेलन गर्ने सहमति
६ भदौमा नयाँबानेश्वरमा वसेको उच्चस्तरीय राजनीतिक समिति र नेकपा माओवादी नेतृत्वको मोर्चाबीच निर्वाचनमा जानुअघि दलहरुबीचको सम्मेलन गर्ने सहमति भएको छ ।
दलहरुको सम्मेलनका लागि दुई दिन गृह कार्य गरेर टुंगोमा पुग्ने निर्णय भएको एमाले नेता रघु पन्तले बताए । उनका अनुसार गोलमेचका लागि दलहरुले गृहकार्य गरी दुई दिनभित्र आफ्ना अवधारणा राख्नेछन् ।
नेकपा–माओवादी अध्यक्ष मोहन वैद्यले वार्ता सकारात्म भएको भन्दै बृहत राजनीतिक सहमतिका लागि गोलमेच गर्ने सैद्धान्तिक सहमति भएको बताए । वार्तामा नेकपा–माओवादी नेतृत्वको मोर्चाले गोलमेच सम्मेलनबाट मात्रै संविधानसभा निर्वाचनका विषयलाई टुंगोमा पुर्याउनुपर्ने अडान राखेपछि सहमति भएको हो ।
एमाले नेता पन्तले ४ मंसीरका लागि घोषित संविधानसभाको निर्वाचन र सरकार परिवर्तन नगर्ने गरी सर्वदलीय बैठक आह्वान गर्न राजनीतिक समिति तयार भएको जानकारी दिए ।
बैठकमा सहभागी कांग्रेस नेता अर्जुन नरसिंह केसीले विघटित संविधानसभामा सहभागी दलहरुको मात्र गोलमेच सम्मेलन हुने बताएका थिए ।
दलहरुको सम्मेलन गर्ने भनिए पनि त्यसलाई गोलमेच वा सर्वपक्षीय के भन्ने र क-कस्को सहभागिता रहने भन्नेबारेमा नेताहरु अझै स्पष्ट भएका छैनन् ।
——————————————————————————————————————————————-
माओवादीसँगको निर्णायक वार्ता जारी
उच्चस्तरीय राजनीतिक समिति र नेकपा–माओवादी नेतृत्वको मोर्चाबीच निर्णायक भनिएको वार्ता ६ भदौ विहानदेखि जारी छ ।
नेकपा–माओवादी नेतृत्वको मोर्चा र उच्चस्तरीय राजनीतिक समितिबीच ६ साउन बिहान ९ बजेदेखि शुरु भएको वार्ता जारी छ । विहान एक चरणको वार्तापछि दुवैपक्ष आन्तरिक छलफलका लागि भन्दै केहीबेर वार्ता स्थगित गरेका थिए । अहिले फेरि दुवैपक्षबीचको वार्ता शुरु भएको छ ।
वार्ता प्रक्रिया लामो हुँदै जाँदा ४ मंसीरका लागि निर्धारित निर्वाचन मितिमा प्रभाव पर्ने भएकोले आजै निर्णायक वार्ता गर्ने उच्चस्तरीय राजनीतिक समितिले जनाएको छ ।
वार्तामा समितिमा आवद्ध दलका शिर्ष नेताहरु र मोर्चामा आवद्ध दलहरुका पनि शिर्ष नेताहरु सहभागी छन् ।
