समाचारशुक्रबार, भाद्र ७, २०७०
मतदाता नामावली दर्ता आज अन्तिम
निर्वाचन आयोगले १ देखि ७ भदौसम्मका लागि पछिल्लो पटक थपेको मतदाता नामावली संकलनको म्याद आज सकिंदैछ ।
१ देखि ६ भदौसम्म मुलुकभर १ लाख ६ हजार १५ मतदाताले आफ्नो नाम दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ ।
६ भदौमा मात्रै सबै जिल्ला निर्वाचन कार्यालयमा ३५ हजार ३ सय ८४ जनाले नाम दर्ता गराएका थिए ।
सबैभन्दा धेरै काठमाडौंमा नाम दर्ता भएको आयोगले जनाएको छ । काठमाडौंमा बिहीबार मात्र ७ हजार ५ सय जनाले नाम लेखाएका छन्।
मतदाता नामावली संकलन अभियानमा हिमाली जिल्लामा अपेक्षा गरिएभन्दा कम मतदाताले नाम लेखाएको आयोगले जनाएको छ ।
७ भदौमा यो संख्या अझै धेरै हुने अनुमान गरिएको छ । काठमाडौं जिल्ला निर्वाचन आयोगको कार्यालयमा विहानैदेखि नाम दर्ता गराउनेहरुको ठूलो भीड लागेको छ ।
आयोगका अनुसार असार मसान्तसम्मको पहिलो म्यादमा १ करोड २३ लाख ८ हजार मतदाताले नाम दर्ता गराएका थिए ।
मतदान गर्न उमेर पुगेको जनसंख्या १ करोड ५४ लाख छ ।
