समाचारशुक्रबार, भाद्र ७, २०७०
रेग्मीले भने, ‘निर्वाचन ४ मंसीरमै’
७ भदौमा राष्ट्रपति रामवरण यादवलाई भेट्न शीतलनिवास पुगेका मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले दलहरुबीच निरन्तर चलिरहेको वार्ताले सकारात्मक वातावरण बनाएको भन्दै ४ मंसीरमा नै निवाचन हुनेमा आफू आशावादी रहेको बताएका छन् ।
उनले नेकपा–माओवादीले नेतृत्व गरेको मोर्चा र संघीय समाजवादी पार्टी पनि गोलमेच सम्मेलनमार्फत समस्या समाधानका लागि तयार भएकाले निर्वाचनको वातावरण बन्दै गएको राष्ट्रपतिलाई बताएका थिए ।
जवाफमा राष्ट्रपति यादवले गोलमेच सम्मेलनका विषयवस्तुको बारेमा जिज्ञासा राखेको शीतलनिवास स्रोतले जानकारी दिएको छ । जवाफमा अध्यक्ष रेग्मीले गोलमेच सम्मेलन दलहरु ४ मंसीरको निर्वाचनका विषयमा नै केन्द्रित भएर छलफल गर्ने बताएका थिए ।
भेटपछि सञ्चराकर्मीलाई प्रतिक्रिया दिँदै अध्यक्ष रेग्मीले दलहरुबीच वार्ता र संवाद जारी रहेकाले चुनावका लागि सकारात्मक वातावरण बनेको बताए ।
रेग्मी नियमित भेटका क्रममा शीतल निवासमा पुगेका हुन् ।
