समाचारशुक्रबार, भाद्र ७, २०७०
सरकार र मिति फेर्नै पर्छः वैद्य
सबै दलहरुको सहभागितामा संविधानसभाको निर्वाचन सुनिश्चित गर्न रिपोर्टर्स क्लबले दिएको ज्ञापन पत्र बुझ्दै अध्यक्ष वैद्यले अहिलेको सरकार र निर्वाचनको घोषित मिति कुनै हालतमा पनि नमान्ने बताएका छन् ।
“गोलमेच सम्मेलनबाट दलहरुकै नेतृत्वमा सरकार गठन गरी अर्को निर्वाचन मिति सुनिश्चित गर्नु पर्छ भन्ने मान्यतामा हामी अडिग छौं,” उनले भने, “यथास्थितिमा कम्प्रोमाइज हुँदैन ।”
बैद्यले उच्चस्तरीय राजनीतिक समितिसँगको वार्तामा पनि आफूहरुले सरकार र मिति नमान्ने कुरा स्पष्ट पारेको बताए । उनले भने, ” सम्मेलनबाट नयाँ प्रक्रियामा जानुपर्छ ।”
माओवादी नेतृत्वको मोर्चाले अघि सारेको १८ बुंदे माग अनुसार नै गोलमेच सम्मेलनमा छलफल हुनुपर्ने वैद्यको भनाई थियो ।
उनले उच्चस्तरीय राजनीतिक समितिलाई फेर्ने विषयका लागि मात्रै आफूहरुले गोलमेच सम्मेलनको माग नगरेको दाबी गरे ।
कोइराला–वैद्य भेट
यसैबीच माओवादी अध्यक्ष वैद्यलगायतका नेताहरुले कांग्रेस सभापति सुशील कोइरालासँग छलफल गरेका छन् ।
उच्चस्तरीय राजनीतिक समितिका संयोजकसमेत रहेका कांग्रेस सभापति सुशील कोइरालासँग ७ साउनमा भएको छलफल पनि वैद्यले आफ्ना १८ बुंदे मागहरुको बारेमा छलफल हुनुपर्ने बताए ।
कोइराला निवास महाराजगञ्जमा भएको छलफलमा विघटित संविधानसभामा प्रतिनिधित्व गरेका र अन्दोलनरतत दलहरुलाई सहभागी गराएर निर्वाचन, सरकार र राजनीतिक समितिका बारेमा गोलमेचमा छलफल हुनुपर्ने आफूहरुले माग राखेको माओवादी उपाध्यक्ष सीपी गजुरेलले जानकारी दिए ।
उनले १८ बुंदे मागहरु सम्बोधन भएमात्रै गोलेमेच सम्मेलन सफल हुने समेत दावी गरेका थिए ।
जवाफमा सभापति कोइरालाले सरकार र निर्वाचन मिति परिवर्तन गर्ने बाहेकका विषयमा छलफल गरेर सहमति खोज्नुपर्ने बताएको पनि गजुरेलले जानकारी दिए ।

